'पुनर्निर्माणमा काम गर्न सेना तयार'

  • 20 मे 2015
नेपाली सेना
Image caption तत्कालिक प्राथमिकता राहत सामग्री जिल्ला जिल्ला पु-याउनु रहेको सेनाले बताएको छ

विनाशकारी भूकम्पपछि उद्दार तथा राहतमा खटिदै आएको नेपाली सेनालाइ असार महिनासम्म परिचालन गर्न सरकारले राष्ट्रपतिलाइ सिफारिस गरेको भोलिपल्ट मगलबार नेपाली सेनाले राहत वितरण बाहेक पुनर्निर्माणमा पनि काम गर्न आफु तयार रहेको बताएको छ।

उसले सेनाले भावी दिनमा खेल्नुपर्ने भूमिका किटान गर्दै बर्षायाम अघि नै भूकम्प प्रभावित जिल्लामा राहत पुर्रयाउने गरी योजना बनाउन सरकारलाई आग्रह गरेको छ।

भावी भूमिकाबारे आफूले पनि योजना बनाइरहेको उद्धार तथा राहत वितरणको संयोजन गरिरहेका उच्च सैनिक अधिकारीले बताएका छन्।

बैशाख १२ गतेको भूकम्प लगत्तै परिचालित सेना हाल झन्डै ६ सय भूकम्प प्रभावित स्थानहरुमा खटिएको छ।

राहत

प्रधान सेनापति गौरव शम्सेर राणाले आइतबार सैनिक जवान तथा अधिकृतहरुलाई सम्बोधन गर्दै हाल जारी राहतका कार्यहरु क्रमिक रुपले अन्य निकायलाई हस्तान्तरण गरी जेठ मसान्तसम्म ब्यारेकमा फर्काउने योजना रहेको बताएका थिए।

तर सोमबारको मन्त्रिपरिषदको बैठकले विपदसँग जुध्न असार मसान्त सम्म सेना परिचालन गर्न राष्ट्रपति रामवरण यादवलाई सिफारिस गरेपछि भावी दिनमा आफ्नो भूमिकाबारे योजना बनाउन सजिलो भएको सैनिक अधिकारीहरुले बताएकाछन्।

भूकम्प पछि राहत तथा उद्धारको सयोजन गरिरहेका नेपाली सेनाका उपरथी विनोज बस्न्यातले सरकारले आदेश दिएमा सेनाले भूकम्पका कारण ध्वस्त संरचनाहरुको पुनर्निमाणका लागि काम गर्ने बीबीसीलाई बताए।

तत्कालको प्राथमिकता अति प्रभावित जिल्लाहरुमा आवश्यक राहतको पहिचान गर्नु र राहत सामग्री जिल्ला जिल्ला पुर्याउनु रहेको सेनाले बताएको छ।

उनले भने, "सरकारले पनि योजना बनाइरहेको छ र हामी पनि योजना बनाइरहेका छौँ। दुवैलाई मिलाएपछि जनजीवन कसरी सामान्य बनाउने र पुनर्निमाण प्रकृया शुरु भएपछि सरकारले दिने जिम्मेवारीका लागी हामी तयार छौँ।"

८ हजार भन्दा बढीको ज्यान लिएको भूकम्प आएकै दिनदेखि परिचालित सेना त्यसयता गृह मन्त्रालयको समन्वयमा उद्धार खोज तथा राहतमा परिचालित भैरहेको छ।

परिचालन

संवैधानिक व्यवस्था अनुसार सेना परिचालनको सिफारिस गरिएको भन्दै रक्षा सचिव इश्वरी पौड्यालले आगामी दिनमा पनि अन्य सुरक्षा निकायसँग मिलेर काम गर्ने बताए।

उद्धार तथा खोजी कार्य समाप्त नभैसकेको भन्दै उनले भने, ‘ राहत सामग्री ढुवानी, भत्केका भग्नावशेषको व्यवस्थापन र भत्किन लागेका घरहरु हटाउने काम बाँकी नै रहेकाले सेना परिचालनको सिफारिस गरिएको हो।

हालैको भूकम्पका कारण सैनिक मुख्यालय सहित झन्डै साढे सात सय भवन भत्किएको सेनाले जनाएको छ।

पछिल्लो विपदबाट सिकेको पाठका आधारमा आफ्नो हवाइ क्षमता विस्तार र भत्केका संरचनामा खोज तथा उद्धार अघि बढाउन आवश्यक उपकरण जुटाउन सहयोग गर्न सरकारले सेनासँग माग गरेको छ।