घर भत्काउने यन्त्र विदेशबाट मगाइँदै

  • 20 मे 2015
तस्वीर कपीराइट BBC World Service
Image caption अधिकारीहरुका अनुसार भत्काउनु पर्ने घरहरुको संख्या करिव एक हजार छ

सरकारले भूकम्पका कारण मर्मत र पुनर्निर्माण गर्न नसकिने गरी धरमराएका घरहरु भत्काउन अत्याधुनिक साधन उपलव्ध गराइदिन छिमेकीसहितका प्रविधिसम्पन्न देशहरुलाई आग्रह गरेको छ।

तीन तलेभन्दा ठूला घर भत्काउने साधन देशभित्र नभएकाले त्यस्ता यन्त्र किन्ने गरी वा भाडामा भएपनि दिन पत्र पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हालसम्म भूकम्प प्रभावित जिल्लाहरु भत्काउनु पर्ने अवस्थामा रहेका करिब एक हजार घरहरुको पहिचान भइसकेको अधिकारीहरुले बताएका छन्।

कारण

भूकम्पका कारण भत्किने अवस्थामा पुगेका घरहरुले कुनै पनि बेला मानवीय क्षति पुर्याउन सक्ने भन्दै सरकारले त्यस्ता घरहरु भत्काउने काम सुरु गरि सकेको छ।

तर त्यसको निम्ति देशभित्रै उपलब्ध उपकरण अपर्याप्त भएकाले अन्य देशलाई पत्राचार गरिएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए।

उनले भने “ठूला घरहरु भत्काउन आवश्यक सामाग्री उपलब्ध हुन सक्ने नसक्ने के हो, किन्न सक्ने भए किन्छौं, किन्न नसक्ने भए भाडमा पनि लिन्छौं तर छिट्टै उपलब्ध हुनुपर्छ भनेका छौं।”

यसरी पत्राचार गरिएका देशहरुमा छिमेकी भारत र चीनका साथै त्यस्ता प्रविधि भएका अन्य मुलुकहरु रहेको बताइएको छ।

जनशक्ति

प्रविधिसँगै दक्ष जनशक्ति पनि मगाइएको बताइएको छ।

पत्रको जवाफ छिट्टै आउने र घर भत्काउने कामले गति पाउने मन्त्री पाण्डेले बताए।

उनले भने “एक-दुई दिनभित्र जवाफ आउला, विज्ञ टोली र सामान आएपछि भत्काउने काम तीब्र गतिमा अघि बढछ।”

हालसम्म देशभर भत्काउनु पर्ने अवस्थामा पुगेका घरहरुको संख्या करिव एक हजार रहेको बताइएको छ।

तीमध्ये करिब आठ सयको हाराहारीमा काठमान्डू उपत्यकामा नै रहेको शहरी विकास मन्त्रालयले जनाएको छ।

प्राविधिकहरुले परीक्षण गरिरहेकाले त्यो संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुको छ।