सिरीया र इराकमा आइएसको अघि बढाइ

  • 22 मे 2015
तस्वीर कपीराइट
Image caption सिरीयाको करिब ५० प्रतिशत भूभाग अब इस्लामिक स्टेटको नियन्त्रणमा भएको बताइन्छ

इस्लामिक स्टेट उग्रवादीहरुले सिरीयाली सरकारको नियन्त्रणमा रहेको सिरीया र इराक बीचको सीमा पार गर्ने अन्तिम केन्द्रमाथि नियन्त्रण कायम गरेका छन्।

सिरीयन अब्जरभेटरी फर ह्युमन राइट्सले बताए अनुसार आइएस अघि बढ्दै जाँदा सरकारी सैन्य सो केन्द्रबाट पछाडि हटेका थिए।

यस अघि बिहीबार आइएसले सिरीयाको प्राचीन शहर पाल्मिरामाथि कब्जा जमाएको थियो।

अमेरिकाको भनाईमा उग्रवादीहरुसित लड्न अब कठिन चुनौती हुनेछ।

सिरीयाको करिब ५० प्रतिशत भूभाग अब इस्लामिक स्टेटको नियन्त्रणमा भएको बताइन्छ।

बिहीबार प्राचीन शहर पाल्मिरामाथि आइएसले कब्जा जमाए पछि मध्य पूर्व सम्बन्धि ओहायो बिश्वविद्यालयका इतिहासविद् अम्र ए आजमले भने, त्यो एउटा दुर्भाग्यपूर्ण घटना थियो।

उनको भनाईमा सिरीयाको सांस्कृतिक संपदाको लागि त्यो भयानक धक्का थियो किनकि पाल्मिरा अति नैं पुरातात्वीक स्थल हो।

तर संवाददाताहरु भन्छन्, देशको पूर्वमा आइएसको नियन्त्रणमा रहेको ठूलो भूभागको त्यति सामरिक महत्व छैन।

इराकमा आइएस

छिमेकको इराकमा पनि आइएसले महत्वपूर्ण सफलता प्राप्त गरेको छ।

हप्तौंसम्मको संघर्ष पछि उसले अन्बर प्रान्तस्थित सामरिक महत्वको रमादी शहरमाथि कब्जा जमाएको छ।

इराकमा उग्रवादीहरु रमादीबाट पूर्वतर्फको युफ्रेटस् उपत्यकातर्फ अघि बढी रहेको बताइन्छ, जहाँ रमादीमाथि प्रत्याक्रमण गर्न सरकार समर्थक सैन्य भेला भइ राखेका छन्।

इराकका उप प्रधानमन्त्री सालेह अल मुत्लाकले आइएस विरुद्ध लड्नु अब स्थानीय बिषय मात्र नरहेको भन्दै अन्तर्राष्ट्रीय समुदायसित कार्यवाही गर्न आह्वान गरे।

अमेरिका र उसको गठबन्धनले सिरीया र इराकमा आइएस बिरुद्ध हवाई हमला गरी राखेका छन्।

एक जना अमेरिकी अधिकारीको भनाइमा बुधबार यता उनीहरुले सिरीयास्थित आइएसका निशानाहरु माथि १८ पटक हवाई हमला गरी सकेका छन्।

आइएसको यो उपलब्धि गठबन्धनका लाग‌ि ठूलो धक्का भएको कुरा अमेरिकाले स्विकार गरेको छ।

तर राष्ट्रपति बाराक ओबामाले उक्त समुहसितको युद्धमा अमेरिकाको हार भइ राखेको छैन भनेका छन्।