नयाँ पर्यटनमन्त्रीमा शेर्पा नियुक्त

  • 22 मे 2015
तस्वीर कपीराइट KPOLI
Image caption राष्ट्रिय सहमतिको सरकारको पक्षमा पहल गरिरहेको एमालेले मन्त्री परिवर्तन गरेको छ

प्रधानमन्त्री सुशील कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा एमालेका सभासद कृपाशुर शेर्पालाई नियुक्त गरेका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार आठ महिनाअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपकचन्द्र अमात्यले दिएको राजीनामा स्वीकृत गरी प्रधानमन्त्रीले सेर्पालाई उक्त जिम्मेवारी दिएका हुन्।

उनी कोइराला नेतृत्वको सरकारमा उक्त जिम्मेवारी पाउने तेश्रो पर्यटनमन्त्री हुन्।

अमात्यभन्दा पहिले भीम आचार्य पर्यट्नमन्त्री थिए।

भूमिका

ती दुबै पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकट मानिन्थे।

आचार्यलाई थाहा नै नदिई उनको ठाउँमा आमात्यलाई नियुक्त गरिएको थियो।

पार्टीको तर्फबाट संसदीय फाँटमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री आचार्यलाई हटाएर पार्टीको भूमिकामा खासै नदेखिएका अमात्यलाई मन्त्री बनाइँदा त्यसले एमालेभित्र तरंग उत्पन्न गरिदिएको थियो।

नवनियुक्त मन्त्री शेर्पा पनि एमालेको केन्द्रीय तहमा छैनन् तर उनी भोजपुरबाट निर्वाचित सभासद हुन्।

उनी एकल जातीय पहिचानका कट्टर विरोधी मानिन्छन्।

कार्यशैली

अमात्यले बिहिवार अचानक राजीनामा दिएका थिए।

राजीनामा दिनुको कारणबारे एमाले प्रचार विभागका उपप्रमुख समेत केन्द्रीय सदस्य सूर्य थापाले भने, “उहाँले पार्टी नेतृत्वलाई जानकारी दिएर व्यक्तिगत कारणले दिनु भएको हो।”

तस्वीर कपीराइट AP
Image caption अमात्यलाई मन्त्री बनाइँदा त्यसले एमालेभित्र तरंग उत्पन्न गरिदिएको थियो

तर त्यो व्यक्तिगत कारण ‘पछि खुल्दै जाला’ भन्दै उनले त्यसबारे थप बताएनन्।

विभिन्न अड्कलहरुका माझ मन्त्री स्वंय पनि मौन छन्।

कतिपयका विचारमा मन्त्रीको फेरबदल अस्वाभाविक नमानिए पनि आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको पक्षमा पहल गरिरहेको दल एमालेकै मन्त्री फेरिनु स्वाभाविक जस्तो देखिन्न।