‘वर्षाबाट जोगाउन थप सहयोगको खाँचो’

  • 23 मे 2015
तस्वीर कपीराइट AP
Image caption भूकम्प प्रभावित क्षेत्रमा ओतलाग्न अझैं पनि त्रिपालको माग छ

दातृनिकायहरुले पर्याप्त सहयोग नगरे नेपालका दशौं हजार भूकम्प पीडितहरुलाई संघारमा पुगेको वर्षाका बेला ओत लाग्ने उचित बसोबास जुटाउन नसकिने चेतावनी रेडक्रसले दिएको छ।

खासगरी दोलखा र सिन्धुपाल्चोक जिल्लामा ९० प्रतिशत घरहरुमा क्षति पुगेको हुनाले त्यहाँका मानिस बढ्ता जोखिममा रहेको उसले जनाएको छ।

शुक्रबार काठमाण्डू, दिल्ली तथा जिनेभाबाट संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा रेडक्रसले दाताहरुले आपतकालीन बसोबासका आवश्यकता पूरा गर्न तत्काल सहयोग उपलब्ध नगराए दशौं हजार मानिसहरुको वर्षामा विजोग हुने जनाएको हो।

रोगको डर

रेडक्रसका अनुसार दिनहुँ जसो पाल र त्रिपाल वितरण गरिएपनि माग अत्यधिक छ।

रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख मार्टिन फालर भन्छन्, “जति लामो समय पीडितहरुलाई भग्नावशेष छेउछाउका खराब र फोहोर ठाउँमा बसिरहन बाध्य पारिन्छ, रोगको महामारी फैलन सक्ने त्यति नै धेरै सम्भावना बढ्छ।”

आवश्यक र पर्याप्त सहयोग नआउँदा पर्ने अप्ठेरोबारे नेपाल रेडक्रस सोसाइटीका संचार विभाग प्रमुख दिव्यराज पौडेलले भने, “हामीले खाद्यान्न, गैर-खाद्य सामाग्रीहरु, स्वास्थ, सरसफाई र बसोवासका क्षेत्रहरुलाई प्राथामिकतामा राखेर योजना बनाएका छौं, तर योजना अनुसार काम गर्न सहयोग पर्याप्त नभएको महसुस भएको छ।”

अपिल

तस्वीर कपीराइट Mahesh Acharya BBC
Image caption दोस्रो भूकम्प पश्चात रेडक्रसले ९ करोड तीस लाख डलर सहयोगको अपिल गरेको छ

दोस्रो भूकम्प पश्चात रेडक्रसले ९ करोड तीस लाख डलरको अपिल गरेको छ।

करिब सात लाख मानिसहरुलाई बसोबास, स्वास्थ, सफा पानी र आपतकालीन राहतका निम्ति उक्त अपिल गरिएको हो।

रेडक्रसका अनुसार हाल सवा दुई लाख भन्दा धेरै मानिसहरु रेडक्रसको पाल र त्रिपालमा बसिरहेका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफले भनेको छ, “भूकम्पबाट सबभन्दा धेरै प्रभावित भएका ठाउँहरुमा प्रत्येक घण्टा १२ शिशुको आधारभूत स्वास्थ सेवा विना नै जन्म भइरहेको छ।”

त्यस्तो स्थितिप्रति उसले चिन्ता जनाएको छ।