‘विपदमा समेत एक वर्ष पुग्ने खाद्यान्न’

  • 25 मे 2015
तस्वीर कपीराइट Netra KC
Image caption प्राकृतिक विपत्तिमा पनि खाद्यान्न अभाव हुन नदिन एक वर्ष पुग्ने गरी अढाई लाख क्विन्टल खाद्यान्न मौज्दात राखिएको सरकारको भनाई छ

सरकारले वर्षायाममा हुन सक्ने प्राकृतिक विपलाई ध्यानमा राख्दै खाद्यान्न अभाव हुन नदिन कम्तिमा छ महिनालाई पुग्ने गरी थप खाद्य सामाग्री किन्ने प्रक्रिया सुरु गरेको जनाएको छ।

त्यो आपतकालीन अवस्थाका निम्ति भन्दै नियमित रुपमा खाद्य संस्थानमा राखिने गरेको मौज्दातभन्दा बाहेकको हो।

नियमित मौज्दातले एक वर्षलाई पुग्ने उसको भनाई छ।

इन्धन भने एक महिना मात्र पुग्ने मौज्दात रहेको बताइएको छ।

खरिद

हाल नेपाल खाद्य संस्थानसँग झण्डै अढाई लाख क्विन्टल खाद्यान्न रहेको सरकारले जनाएको छ।

बाढी-पहिरो, भूकम्प लगायतका सम्भावित विपदलाई ध्यानमा राख्दै खाद्यान्न अभाव हुन नदिन उक्त मौज्दात राखिएको बताइएको छ।

उक्त खाद्यान्नले यस वर्षलाई धान्ने वाणिज्य तथा आपुर्ती मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेको भनाई छ।

तर थप खाद्यान्न खरिद गर्न मन्त्रालयले तयारी गरेको उनले बताए, “खाद्यन्न अभाव हुदैन भन्ने विश्वासमा छौं। तर पनि मनसुन सुरु हुनासाथ बाढी-पहिरो आउन सक्ने कुरालाई ध्यानमा राखेर थप परिमाणमा खाद्यान्न खरिद गर्ने सोंचमा छौं। त्यसले थप छ महिनासम्म धान्ने छ।”

यसको लागि कति खाद्यान्न चाहिन्छ भनेर लेखाजोखा गरिरहेको उनले बताए।

जोखिम

पेट्रोलियम लगायतका इन्धन भारतबाट ल्याउनु पर्ने हुनाले प्राकृतिक विपदमा ल्याउन सम्भव नहुने अवस्थामा भने अभाव देखिन सक्ने आँकलन गरिएको छ।

प्रवक्ता घिमिरेका अनुसार आयल निगमले नियमित रुपमा भण्डारण गर्ने बाहेक अन्य व्यवस्था नभए पनि एक महिनासम्म उक्त इन्धनले काम चलाउन सकिन्छ।

उनले भने, “पेट्रोल एक महिनाको हाराहारीलाई पुग्छ। डिजेल र मट्टितेल अलि बढी पुग्ला। हवाई इन्धन चाहिँ तीन महिनालाई पुग्छ।”

एक महिनाअघिको भूकम्पका कारण पहिरो लगायतको जोखिम बढेकाले बाटो अवरुद्ध हुँदा खाद्यान्न तथा इन्धन लगायतका सामाग्री अपुग भएको अवस्थामा आयात गर्नको लागि बैकल्पिक मार्गहरुको पनि अध्ययन भइरहेको अधिकारीहरुले बताएका छन्।