आइएस बिरुद्ध इराकी सैनिक अभियान

  • 26 मे 2015
तस्वीर कपीराइट
Image caption सैनिक अभियान अन्तर्गत सेना र मिलीसिया सलाहुद्दीन प्रान्तबाट दक्षिण तर्फ अघि बढ्नेछन्

इराकमा सरकारी सेनाले इस्लामिक स्टेट उग्रवादीहरुलाई अन्बार प्रान्तबाट धपाउने उद्देश्यका साथ औपचारिक सैनिक अभियान आरम्भ गरेको छ।

दर्जनौं शिया मिलिसीयाहरु संलग्न एउटा स्वयंसेवी लडाकु सैन्यका प्रवक्ता अहमद अल-असादीले त्यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार, यो सैनिक अभियान अन्तर्गत सेना र मिलीसिया सलाहुद्दीन प्रान्तबाट दक्षिण तर्फ अघि बढ्नेछन् र रमादीमा रहेका आइएस उग्रवादीहरुलाई एक्लाउने प्रयास गर्नेछन्।

यसै महिना केहि अघि, इराकी सेना पछि हटेपछि रमादी शहर आइएस जीहादीहरुको कब्जामा गएको थियो।

त्यसबेला देखि नै सरकारी सैन्यले प्रत्याक्रमणको तयारी गरिरहेका थिए।

उनीहरुले, गत केहि दिनमा आफूहरुले रमादीको पूर्वी क्षेत्रका केहि इलाकामा पुन: नियन्त्रण हासिल गर्न सकेको बताएका छन्।

स्वागत

नयां आक्रामक कार्वाहीको घोषणालाई अमेरिकीहरुले स्वागत गरेका छन्।

अमेरीकी उपराष्ट्रपति जो बाइडनले त्यसप्रति आफूहरुको पूर्ण समर्थन रहने जनाएका छन्।

तर बीबीसी सम्बाददाता जोनाथन मार्कस भन्छन्, उक्त सैन्य कार्वाहीमा शिया लडाकूहरुको मुख्य भूमिका रहनेमा भने वाशिंगटनले सहज अनुभव गरेको छैन, किनकी ति मध्ये धेरैलाई इरानको समर्थन प्राप्त छ।

शिया मिलिसियाका प्रवक्ता अहमद अल-असादीले पत्रकार सम्मेलनमा बोल्दै अन्बार प्रान्तलाई पुन: सरकारी नियन्त्रणमा ल्याउने सैनिक अभियान लामो समयसम्म नचल्ने बताउंदै उनकै शब्दमा शत्रुलाई अचम्ममा पार्ने गरी लडाईंमा नौलो अस्त्रहरुको प्रयोग हुने बताएका छन्।

दावी

सोमबार बीबीसीसंगको एउटा अन्तर्वार्तामा इराकी प्रधानमन्त्री हैदर अल-अबादीले पनि रमादी शहर केहि दिनभित्रै पुन: सरकारी नियन्त्रणमा आउने दावी गरेका थिए।

उनले रमादीमा हमला हुंदा त्यहां तैनाथ करीब १५०० सरकारी सैनिकहरुले १५० जना भन्दा पनि कम उग्रवादीहरुको हमलाबाट पछि हट्न गरेका निर्णयको बचाउ पनि गरेका थिए।

राजधानी बग्दादबाट एकसय किलोमिटर परको दुरीमा रहेको रमादी शहरका केहि भाग र नजीकैको फलुजा शहर सहित अन्बार प्रान्तलाई आइएस उग्रवादीहरुले सन् २०१४ को जेनुअरी महिनामा नैं आफ्नो कब्जामा लिएका थिए।

धेरै जसो सुन्नी समुदायको बसोबास रहेको उक्त प्रान्तले बग्दाददेखि पश्चीम र सिरियाली सिमानासम्मको ठूलो भूभाग ओगट्ने गर्छ र त्यसमा इराकलाई सिरिया र जोर्डनसंग जोड्ने महत्वपूर्ण सडकहरु पर्दछन्।