‘बजेट पच्चिस प्रतिशतसम्म बढ्ने’

  • 26 मे 2015
Image caption जेठभित्रै बजेट ल्याउने पूर्वयोजना भूकम्पका कारण पछाडि धकेलिएको छ

अर्थमन्त्री रामशरण महतले आउँदो आर्थिक वर्षको बजेटको आकार चालु वर्षको भन्दा २५ प्रतिशतसम्म बढ्न सक्ने बताएका छन्।

भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित गर्नुपर्ने भएकाले बजेट ठूलो हुने उनको भनाई छ।

सरकारले भूकम्पबाट करिब ५ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।

ठूलो खर्च

सरकारी अधिकारीहरुका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भने ८ खर्बभन्दा बढी खर्च लाग्नसक्छ।

यसरी ठूलो रकम पुनर्निर्माणमा लगाउनु परेकाले बजेटको आकार गत वर्षको तुलनामा करिब एक चौथाइले बढ्ने अर्थमन्त्री रामशरण महतको भनाई छ।

उनले बीबीसी नेपाली सेवासँग कुरा गर्दै भने, “बजेटको तयारी गर्न बाँकी नै छ, तर कम्तिमा २०-२५ प्रतिशतले बढाउनु पर्ने स्थिति आउँछ।”

सरकारले गत वर्ष करिब ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।

आउँदो बजेट केही छिटो, जेठभित्रै ल्याउने पूर्वतयारी भएपनि भूकम्पका कारण त्यो योजना पछाडि धकेलिएको छ।

टुक्रे योजना

अर्थमन्त्री महतका अनुसार राजनीतिक प्रभावका आधारमा वितरण हुने भनिएका कयौं टुक्रे योजनाका लागि रकम वितरण गर्ने विगतको अभ्यास नियन्त्रण गर्ने प्रयास हुने छ।

उनी भन्छन्, “कम महत्वका खर्चहरु अब नियन्त्रण गर्नुपर्छ, नयाँ निर्माण पनि चाहिने अनि उपभोग पनि बढाउँदै जान्छु भन्न मिल्दैन।”

टुक्रे योजनाहरुले राज्यलाई अनावश्यक भार थपेको तथा त्यस्तो खर्च अपारदर्शी समेत हुने गरेका गुनासो आउने गरेका छन्।

कतिपय विज्ञहरुले सभासद्हरुका लागि भनेर गत वर्षदेखि विनियोजन हुन थालेको १ करोड र १५ लाख रुपैयाँको छुट्टाछुट्टै बजेट समेत काटेर पुनर्निर्माणमा लगाउनुपर्ने सुझाव दिएका छन्।