फिफा पदाधिकारीहरु जुरिखमा पक्राउ

  • 27 मे 2015
सेप ब्लाटर तस्वीर कपीराइट Reuters
Image caption फिफा अध्यक्ष सेप ब्लाटरले पाँचौं पटक पनि अध्यक्ष बन्ने प्रयास गरिरहेका छन्

अमेरिकाको न्याय मन्त्रालयले विश्व फुटबलको शासकीय निकाय फिफाका वरिष्ठ अधिकारीहरु विरुद्ध धोखाधडी तथा मुद्रा अपचलन लगायतका अभियोगहरु दर्ता गरेपछि स्वीस प्रहरीले फिफाका सातजना अधिकारीहरुलाई जुरिखमा पक्राउ गरेका छन्।

६ जना वरिष्ठ फिफा अधिकारीहरुलाई बुधबार बिहानै स्वीस शहर जुरिखको एउटा पाँच तारे होटलमा पक्राउ गरिएको थियो।

अमेरिकी न्याय मन्त्रालयले उनीहरु विरुद्ध गएको दुई दशकभन्दा बढी अवधिमा पन्ध्र करोड डलर भन्दा बढी रकम घुस लिएको तथा भ्रष्टाचार गरेको अभियोग लगाएको छ।

छानबिन

यसबाहेक स्वीस अभियोक्ताहरुले सन् २०१८ तथा २०२२ मा विश्व कप फुटबल आयोजना गर्न गरिएको छनोटमा भ्रष्टाचार गरिएको भन्ने अभियोगबारे छुट्टै फौज्दारी छानबिन शुरु गरेका छन्।

फिफाका सदस्यहरुले नयाँ अध्यक्ष चयन गर्नु दुई दिनअघि ती गिरफ्तारी भएका हुन्।

फिफाका वर्तमान अध्यक्ष सेप ब्लाटरले फेरि पाँचौं पटक पनि उक्त संगठनको अध्यक्ष बन्ने प्रयास गरिरहेका छन्।

उनका प्रतिद्वन्द्वी जोर्डनका राजकुमार अलि बिन अल हुसेनले बुधबार फुटबलकालागि एक दुखद दिन भएको बताए। तर उनले थप टिप्पणी गरेनन्।

पक्राउ पर्नेहरुमा फिफाका भूतपूर्व उपाध्यक्ष ज्याक वार्नर, फिफाको क्लब कमिटीका सदस्य जोजे मारिया मरिन तथा दक्षिण अमेरिकी फुटबलको शासकीय निकाय कनमेबोलका अध्यक्ष युजेनियो फिगेरेदो लगायत छन्।

फिफालाई संसारकै सबैभन्दा धनी तथा शक्तिशाली खेल संगठन ठानिन्छ।

विश्व कप

यसअघि फिफाले सन् २०१८ को विश्व कप फुटबल रुसमा तथा सन् २०२२ को विश्व कप फुटबल कतारमा आयोजना गर्ने निर्णय गरेको थियो।

विश्व कप फुटबल प्रतियोगिताहरु गर्मी याममा आयोजना गरिने भएता पनि कतारमा चाहिं हिउँदमा सो खेल आयोजना गरिने फिफाले जनाएको छ।

कतारमाथि सो खेल आयोजकको रुपमा छानिन फिफा अधिकारीहरुलाई घुस दिएको आरोप लागेको थियो। तर कतारी अधिकारीहरु एवम् फिफा दुबैले ती आरोपहरुको खण्डन गरेका थिए।

विश्व कप फुटबलका लागि पूर्वाधारहरु निर्माण गर्ने नेपाल लगायत दक्षिण एसियाली मुलुकका कामदारहरुलाई कतारमा दासजस्तो वातावरणमा काममा लगाइएको भनी विभिन्न मानवअधिकारवादी संगठनहरुले कतारको चर्को आलोचना गरेका छन्।

तर कतारले कामदारहरुलाई काम गर्न उपयुक्त वातावरण बनाउने तर्फ काम भैरहेको जनाउने गरेको छ।

गल्ती

अमेरिकाको न्याय मन्त्रालयले अभियोग दर्ता गरिएकाहरुमध्ये धेरैले आफ्नो गल्ती स्वीकारीसकेको जनाएको छ।

स्वीस प्रहरीले जुरिखस्थित फिफाको मुख्यालयमा खानतलास गर्नुका साथै विभिन्न दस्तावेजहरु जफत गरेको स्वीस अभियोक्ताहरुले जनाएका छन्।

स्वीजर्ल्याण्डस्थित बीबीसीकी संवाददाता इमोजेन फुक्स भन्छिन्, भ्रष्टाचारका यति धेरै समाचारहरुका बावजुद सेप ब्लाटर अझै फिफाको अध्यक्ष रहिरहेकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन्।

तर उनी भन्छिन्, यो पछिल्लो काण्डले उनको करियरमा ठूलो धक्का लाग्न सक्छ।

बुधबार पक्राउ परेका फिफा अधिकारीहरुलाई संयुक्त राज्य अमेरिका सुपुर्दगी गर्न सकिने संभावना रहेको विभिन्न समाचारहरुमा जनाइएको छ।