'उपत्यकामा नयाँ डेराको समस्या'

  • 29 मे 2015
तस्वीर कपीराइट .
Image caption भूकम्पले उपत्यकाका एक चौथाई घरमा क्षति पुर्याउँदा कयौं घरधनीको समेत डेराको बास भएको छ

बाक्लो जनघनत्व रहेको काठमाण्डू उपत्यकाका झन्डै डेढ् लाख घरहरुमा पूर्ण र आंशिक क्षति पुगेपछि बसोबासमा ठूलो समस्या देखिन थालेको छ।

त्यसको सबैभन्दा मारमा नयाँ कोठाको खोजीमा रहेका डेरावालहरु पनि परेको देखिन्छ।

राजधानी उपत्यकामा झन्डै ६ लाख १५ हजार घरहरु रहेको सरकारी तथ्यांक छ।

चर्को भाडा

त्यसमध्ये भूकम्पबाट १ लाख ३८ हजार भन्दा धेरै झण्डै एक चौथाइ घरहरुमा पूर्ण वा आंशिक क्षति पुगेको छ।

सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने पनि उपत्यकामा बसोबास गर्दै आएकामध्ये ५० देखि ६० प्रतिशत मानिसहरुलाई बसोबासको समस्या छ।

नचर्केको घरमा डेरा नपाउने, पाइहाले पनि निकै महंगो भाडा तिर्नु पर्ने स्थिति रहेको गुनासो सुनिन थालेको छ।

डेराको खोजीमा रहेका कुन्ती थापा भन्छिन्, "पहिले पाँच हजार रुपियाँमा दिइने कोठाहरु अहिले १० हजार भन्न थाले, त्यो पनि लिन्छु भन्दा परिवार ठूलो छ दिन्न भने। दुईजनाको परिवार पनि ठूलो देख्न थाले घरधनीहरुले।"

भाडाको यो समस्या देखिनासाथ गृह मन्त्रालयले दुई हप्ता अघि नै घरधनीहरुलाई त्यसरी भाडा नबढाउन निर्देशन दिएको थियो।

उपाय

उसले त्यसो गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिए पनि त्यसको असर नदेखिएको गुनासो पनि छ।

स्थानीय विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता पूर्णचन्द्र भट्टराईले डेरावालहरु केही निश्चित क्षेत्रमा मात्र नखुम्चिने हो भने उक्त समस्या ठूलो नहुने बताउँछन्।

उनले भने, "धेरै जसो डेरामा बस्नेहरु काम गर्ने थलो नजिकै बस्न खोज्छन्। त्योभन्दा अलिकति बाहिरी क्षेत्रमा बस्न तयार हुने हो भने डेराको समस्या नहुन सक्छ, तर त्यसको निम्ति सरकारले सार्वजनिक सवारी साधनको सुविधा व्यवस्थित गर्नुपर्छ।"

राजधानी नै छाडेर जिल्लामा आफ्नो घरतिर लाग्नेहरुको संख्या पनि निकै बढेको भनिएको छ।

चाप

नयाँ शैक्षिक सत्र शुरुवातको विदा लम्बिएको र उपत्यकामा निर्भर हुन नपर्ने हजारौै मानिसहरु राजधानी बाहिर गएको छन्।

तर भूकम्पले अत्यधिक क्षति पुर्याएका छिमेकी जिल्लाहरुबाट राजधानी ओइरिनेहरुको संख्या पनि बाक्लो भइरहेकोले समस्या झन् थपिने देखिन्छ।

त्यसमाथि आफ्नो घरमा क्षति पुगेपछि घर मालिक नै डेरा खोज्ने स्थितिमा पुगेकाले पनि चाप थप बढेको ठानिएको छ।