राष्ट्रिय सरकारबारे कांग्रेस-एमालेबीच फरक मत

  • 30 मे 2015
सुशील कोइराला
Image caption काँग्रेसले संविधान जारी भएपछि मात्रै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिने जनाएको छ

वर्तमान सरकार वा राष्ट्रिय सहमतिको सरकार कसको पालोमा संविधान निर्माण सम्पन्न गर्ने भन्नेमा कांग्रेस र एमालेबीच फरक मत देखिएको छ।

प्रमुख सत्तारुढ घटकहरु कांग्रेस र एमालेबीच नै संविधान अघि वा पछि कुन बेला, राष्ट्रिय सरकार निर्माण गर्ने भन्ने विषयमा फरक मत देखिएको छ।

कांग्रेसले औपचारिक रुपमै अहिलेकै सरकारको पालोमा संविधान जारी गर्ने र त्यसलगत्तै राष्ट्रिय सरकारका लागि बाटो खोल्दै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिने प्रस्ताव अघि सारेको छ।

एमालेका नेताहरुले भने राष्ट्रिय सरकारलाई नै भूकम्पपछिको पुनर्निर्माणसंगै संविधान निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी दिनु उपयोगी हुने तर्क गरेका छन्।

छलफल

भूकम्पपछिको पुनर्निर्माणलाई देशका प्रमुख राजनीतिक शक्तिहरुले सामूहिक रुपमा अघि बढाउन खोजेको चर्चाहरुमाझ पछिल्लोपटक राष्ट्रिय सहमतिको सरकारसम्बन्धी छलफलहरु बाक्लिएका छन्।

संगै जोडिएर आएको छ, लामो समययता अवरुद्धप्राय: संविधान निर्माण प्रक्रियालाई गति दिने विषय पनि।

राष्ट्रिय सरकार गठन गर्नेबारे प्रमुख दलहरु सबै सैद्धान्तिक रुपमा सहमत त छन् तर त्यस्तो सरकार संविधान जारी गर्नु पूर्व वा पछि, कुन बेला बनाउने भन्नेमा भिन्न मत देखिन्छ।

सबैभन्दा ठूलो दल कांग्रेस यही सरकारको पालोमा ढिलोमा असारभित्र संविधान जारी गर्ने पक्षमा छ।

उक्त दलका सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, “संविधान जारी हुनेबित्तिकै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिनुहुनेछ। त्यसपछि अर्कै नेताको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने अनि पुनर्निर्माण र पुनर्स्थापनाको राष्ट्रिय अभियान अघि बढाउने भन्नेमा हामी तयार छौं”।

तर एमालेका नेताहरु भूकम्पपछिको पुनर्निर्माण र संविधान निर्माण दुबै पुरा गर्ने जिम्मा राष्ट्रिय सरकारलाई नै दिनुपर्ने पक्षमा देखिन्छन्।

एमाले उपाध्यक्ष भीम रावलले भने, “राष्ट्रिय विपद्संग जुध्न तथा संविधान निर्माणको कार्य सम्पन्न गर्न राष्ट्रिय सहमतिको सरकार उपयोगी हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो”।

मध्यमार्ग

यस्ता दुई फरक धारणाबीच मध्यमार्गी प्रतीत हुने प्रस्ताव एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसमक्ष राखेको नेताहरु बताउंछन्।

कोइरालाले संविधान जारी भएलगत्तै राजीनामा दिने र राष्ट्रिय सरकारको नेतृत्व ओलीले लिने प्रस्ताव प्रचण्डले राखेको एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले बताए।

यद्यपि संघीयता लगायतका जटिल मुद्दाहरुमा ध्रुवीकृत दलहरुबीच संविधानमा छिट्टै सहमति जुट्नेमा धेरैको आशंका छ।

तर समाधानको सम्भावित उपाय सुझाउंदै महराले भने,“ हामी पनि लचक हुन तयार छौं। कांग्रेस-एमाले पनि अलिकति लचक भएर आए भने संविधानका विषयमा साझा मत बनाउन सम्भव छ”।

यसरी सबै दल लचक हुन खोजेको जस्तो देखिएपनि विगतमा सत्ताका लागि हुने गरेका दाउपेच यसपटक पनि दोहोरिनसक्ने चिन्ता धेरैले व्यक्त गरेका छन्।