भूकम्प प्रभावित जिल्लाहरुमा स्कूल शुरु

  • 31 मे 2015
तस्वीर कपीराइट bbc

वैशाख १२ गतेको भूकम्प पश्चात पाँच सातासम्म बन्द रहेका धेरै प्रभावित १४ जिल्लामा आइतबारबाट विद्यालयहरु खुलेका छन्।

भूकम्पको त्रासका माझ पनि विद्यार्थीहरु पढ्न आएका थिए।

कतिपय विद्यालयहरु भने भौतिक संरचनाको अभावमा अझै खुल्न नसकेको जनाइएको छ।

चिन्ता

कैयौं अभिभावकहरु पनि डराएरै आफ्ना बालबालिका च्यापेर विद्यालयको अवस्था बुझ्न आइपुगेका थिए।

काठमाडौंको जोरपाटीस्थित आकाशदीप इंग्लिस सेकेन्डरी स्कूलमा आफ्ना केटाकेटी पढाउन पठाएकी एक अभिभावक पठनपाठनको निरीक्षण गर्न आफै पुगेकी थिइन्।

उनले भनिन्, “के गर्दै रहेछन् बाबुहरु भनेर यसो हेर्न आएको।”

खासगरी प्रभावित जिल्लाहरुमा ८ हजारको हाराहारीमा स्कूल भवनहरुमा क्षति पुगेको अनि करीब ३० हजार कक्षा कोठामा क्षति पुगेको सरकारी आँकडा छ।

सरकारले जिल्ला शिक्षा कार्यालयहरु मार्फत स्कूलहरुको निरीक्षण गरिएको र सुरक्षितलाई हरियो अनि असुरक्षितलाई रातो स्टीकर दिइएको बताएको छ।

तर पनि कतिपय अभिभावकहरु स्कूल भवनहरुको सुरक्षालाई लिएर चिन्तित छन्।

त्यसैले कैयौं स्कूलहरुले केही समयका लागि भन्दै अस्थायी टहरामा समेत पठनपाठन शुरु गरेका छन्।

कैयौंले विद्यार्थीहरुलाई मनोवैज्ञानिक रुपमा सन्तुलित तुल्याउन खेलकूद र नाचगान मार्फत पढाई शुरु गरेका छन्।

जोरपाटीस्थित उक्त स्कूलमा आइपुगेका एक विद्यार्थीले खुशी हुँदै भने, “पढ्न पाइयो, गीत गाउन पाइयो र साथीहरु भेट्न पाइयो।”

स्कूलका शिक्षकहरुलाई पनि विद्यार्थीको हौसला बढ्ने शैलीमा पठनपाठन अघि बढाउन भनिएको छ।