अभिभावकलाई विद्यालय निरीक्षण गर्न आग्रह

  • 31 मे 2015
Image caption भूकम्पपछि झण्डै ३० हजार कक्षाकोठामा पूर्णरुपमा क्षति भएको सरकारी विवरण छ।

विनाशकारी भूकम्प गएको पाँच सातापछि सरकारको निर्देशन अनुसार प्रभावित जिल्लाका विद्यालयहरु पुनः सञ्चालनमा आउन लागेका छन्।

तर विद्यालयको अवस्था र आफ्ना बालबालिकाको सुरक्षाबारे विद्यालय व्यवस्थापनले आफुहरुसँग छलफल नगरेकोले निश्चिन्त हुन नसकेको भन्दै कतिपय अभिभावकहरुले गुनासो गरेका छन्।

सरकारले भने धेरै जसो विद्यालयको निरीक्षण गरी जोखिम मुल्यांकन गरेरै पढाई सुचारु गरेको र आश्वस्त हुन नसके आफै गएर विद्यालयको निरीक्षण गरेर ढुक्क हुन अभिभावकहरुलाई आग्रह गरेको छ।

भूकम्पले बढी असर पारेका जिल्लाहरुमा पठनपाठन शुरु गर्ने भनिएपनि अधिकांश अभिभावकहरु आफ्ना बालबालिकाको सुरक्षाबारे विश्वस्त हुन नसकेको उनीहरुले बताएका छन्।

विश्वास

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने, “अभिभावकहरुलाई बोलाएर भौतिक अवस्था देखाएर छलफल गर्ने काम केही विद्यालय बाहेक अधिकांशले गरेका छैनन्, त्यसैले विद्यालयप्रति अभिभावकहरुको विश्वास छैन्, आश्वस्त पार्ने विषयमा सरकार र विद्यालयहरु लाग्नुपर्छ।”

सरकारले विद्यालयहरुको निरीक्षण गरेर सुरुक्षित भए हरियो र बस्न नमिल्ने भए रातो स्टिकर लगाईदिएको छ।

तर यसको जानकारी व्यापक रुपमा प्रचार नगरिएको अभिभावकहरुको गुनासो छ।

कतिपय ठाउँमा निरीक्षण बाँकी नै रहेको शिक्षा विभागले जनाएको छ।

विभागका महानिर्देशक डिल्लीराम रीमालले अभिभावकहरुलाई विद्यालयको निरीक्षण गरेर आश्वस्त हुन आग्रह गरेका छन्।

अवस्था

उनले भने, “विद्यालयहरुलाई अभिभावक बोलाएर छलफल गर त भनेको छ तर नगरेको हुन सक्छ, कुनै विद्यालयले कक्षा कोठा देखाउन चाहेन भने त्यस जिल्ला शिक्षा अधिकारीलाई भनेर अभिभावक आफैले हेरी दिनुपर्ने अवस्था छ।”

संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यार्थीहरुको सुरक्षालाई ध्यानमा राखी पठनपाठनको व्यवस्थापन गरेको बताए।

उनले भने, “सुरक्षित ठाउँमा राख्ने, भागदौड गर्न नदिने, टेन्ट र टहराहरु बनाएर विद्यार्थी राख्ने काम गरीरहेका छौँ, सुरक्षित राख्न कतिपय ठाउँमा विहान र दिउँसो दुई पटक गरेर पढाउने पनि भनेका छौँ।”

वैशाख १२ गते गएको भूकम्प र त्यसपछिको झट्काले झण्डै ३० हजार कक्षा कोठा पूर्णरुपमा क्षति भएको र १० हजार कक्षाकोठामा आंशिक क्षति पुगेको सरकारी विवरण छ।