पानीजहाज डुब्दा हराएका चिनियाँको खोजी जारी

  • 2 जुन 2015
Image caption शक्तिशाली हावाहुरी र भारी वर्षाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ

चीनका उद्धारकर्ताहरु याङ्जी नदीमा एउटा यात्रुवाहक पानीजहाज डुब्दा हराइरहेका झन्डै चार सय मानिसको खोजी गर्न संघर्ष गरिरहेका छन्।

सो दुर्घटनाग्रस्त पानीजहाजबाट हालसम्म थोरै यात्रुलाई मात्रै जिवीतै उद्दार गर्न सकिएको छ।

उक्त दुर्घटनामा ज्यान जोगाएका पानीजहाजका कप्तान र प्रमुख इन्जिनियर दुवैलाई हिरासतमा लिइएको छ।

पक्राउ गरिएका कप्तान र प्रमुख इन्जिनियरले चक्रवातमा फसेका कारण पानीजहाज दुर्घटना भएको बताएका छन्।

सन्देश

उक्त पानीजहाजले कुनै आपतकालीन संकेत नदिएको र पौडिएर नदीको किनारमा पुगेका यात्रुले दिएको सूचनाको आधारमा दुर्घटनाको जानकारी प्राप्त भएको कतिपय समाचारहरुमा जनाइएको छ।

केही विवरणहरुमा अर्को डुंगाका चालक दलका सदस्यले दुर्घटनाग्रस्त पानीजहाजका चालकलाई उद्धार गरेपछि सन्देश पठाएको बताइएको छ।

चिनियाँ समचार संस्था सिन्ह्वाले पानीजहाज भित्रैबाट केही मानिसहरुले ज्यान बचाउन आग्रह गरेको उद्धारकर्ताहरुले सुनेको जनाएका छन्।

चिनियाँ सञ्चार माध्यमहरुले पानीजहाजका कप्तानलाई उद्धृत गर्दै जनाए अनुसार सबै यात्रुहरु सुतिरहेको समयमा केही मिनेट भित्रै उक्त पानीजहाज डुबेको थियो।

बीबीसीका मौसमविद् पिटर गिब्सका अनुसार उक्त क्षेत्रमा व्यापक रुपमा चट्याङ सहितको हावाहुरी चलिरहेको थियो।

यात्रा

उक्त पानीजहाजमा चढेका अधिकाशं यात्रुहरु ५० देखि ८० वर्ष उमेरका पर्यटक छन् जो चीनको पूर्वी शहर नान्जीङबाट दक्षिण पश्चिम शहर चोङचिङतर्फ यात्रा गरिरहेका थिए।

विश्वकै तेश्रो लामो नदी याङ्जीको डामाझोउ खण्डमा उक्त दुर्घटना भएको हो।

पानीजहाज डुबेको स्थान भन्दा झन्डै ५० किलोमिटर टाढा तीन जनाको शव पाइएको चिनियाँ समाचारपत्र पीपल्स डेलीले जनाएको छ।

उद्धार कार्यका लागि ५० वटा डुँगा, एक सय जना गोताखोर, झन्डै तीन हजार सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अधिकारीहरुलाई परिचालन गरिएको जनाइएको छ।

चीनका प्रधानमन्त्री लि कच्याङले उक्त दुर्घटना भएको क्षेत्रको भ्रमण गरेका छन्।