प्रमुख अधिकारीहरु घुसमा संलग्न छैनन्: फिफा

  • 2 जुन 2015
तस्वीर कपीराइट AP
Image caption अमेरिकी महान्यायाधिवक्ताले गत बुधबार फिफाका अधिकारीहरुविरुद्ध अभियोगपत्र तयार गरेको घोषणा गरेकी थिइन्।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आफ्ना महासचिव जेरोम भ्याल्क, अमेरिकी निकायले छानबिन गरिरहेको १ करोड डलरको भनिएको घुस काण्डमा संलग्न रहेको भन्ने विषयलाई अस्वीकार गरेको छ।

उक्त रकमलाई सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कपमा मत सुरक्षित गर्न घुसको रुपमा प्रयोग गरिएको अमेरिकी अभियोजनकर्ताहरुले आरोप लगाएका छन्।

तर फिफाले भने क्यारिबियन क्षेत्रमा फुटबललाई लोकप्रिय बनाउन उक्त रकम दक्षिण अफ्रिकी सरकारले छुट्याएको बताएको छ।

उक्त रकमलाई स्वीकृत गर्न वा रकम पठाउने काममा आफ्ना कोही पनि वरिष्ठ अधिकारी संलग्न नभएको फिफाले जनाएको छ।

आरोप

फिफाका अध्यक्ष शेप ब्ल्याटरका प्रमुख सहयोगी जेरोम भ्याल्कले विश्वकप फुटबलमा रकमको कारोबारमा उच्च पदस्थ अधिकारीको हिसाबले आफैँ संलग्न रहेको भन्दै घुस प्रकरणमा लगाइएको आरोप अस्वीकार गरेका छन्।

न्यूयोर्क टाइम्स र अन्य समाचार संस्थाहरुका अनुसार भ्याल्कलाई १ करोड डलर निकासा गर्न संलग्न भएको कुरा अमेरिकी टोलीले तयार गरेको अभियोगपत्रमा उल्लेख छ।

तर फिफाले भ्याल्क अर्थात् अरु व्यवस्थापकहरु उक्त रकम निकासा र त्यससँग सम्बन्धित कुनै पनि योजनामा सहभागी नभएको बताएको छ।

गत बुधबार जुरिखमा वार्षिक सम्मेलन भइरहँदा फिफाका वरिष्ठ अधिकारी पक्राउ परेपछि विश्व फुटबलमा तहल्का मच्चिएको थियो। अमेरिकी अभियोजनकर्ताहरुले १४ जनाविरुद्ध अभियोग लगाएकोमा ७ जनालाइ उक्त सम्मेलनबाट पक्राउ गरिएको थियो।

अस्वीकार

तर फिफाका अध्यक्ष ब्लाटर अभियोग लाग्ने मध्येका होइनन्। १६ वर्षदेखि फिफाका अध्यक्ष रहँदै आएका उनी आफ्नो पाँचौ कार्यकालका लागि चुनाव जित्न त्यहाँ पुगेका थिए।

न्यूयोर्क टाइम्सलाई इमेल गर्दै भ्ल्याकले आफूले रकम खर्च गर्ने कुनै अधिकार प्रत्यायोजन नगरेको र त्यसो गर्न आफूसँग अधिकार पनि नभएको बताए।

फिफाका प्रवक्ताले उक्त रकम निकासा आर्थिक समितिको तत्कालीन अध्यक्ष जुलियो ग्रोनडोनाले गरेको र उनको गत वर्ष नै मृत्यु भइसकेको बताइन्।

यसैबीच फिफाले सन् २०१० को फुटबलका लागि सन् २००७ मै दक्षिण अफ्रिकी सरकारले १ करोड डलर रकम स्वीकृत गरिसकेको स्वीकारेको छ।