राहत पाउने लोभमा गैरपीडितद्वारा निवेदन

  • 3 जुन 2015
तस्वीर कपीराइट Reuters
Image caption कतिपय भूकम्प पीडितहरुले अहिलेसम्म पर्याप्त राहत सामाग्री पाउन नसकेको गुनासो गरेका छन्

गत वैशाखमा गएका विनाशकारी भूकम्पको असर तराइका जिल्लाहरुमा कम परे पनि सरकारी राहतको लोभमा धेरै संख्यामा गैरपीडितहरुले पनि निवेदन दिएको अधिकारीहरुले बताएका छन्।

वास्तविक भूकम्प पीडितभन्दा नक्कली पीडितहरुको सँख्या बढी पाइएको छ।

यद्यपि उनीहरुमध्ये केहीले चाहिँ घरको प्राविधिक जाँचका लागि मात्र निवेदन दिएका छन्।

तराइका जिल्लाहरुमा भूकम्पको प्रभाव कमै देखिए पनि पहाडसँग जोडिएका गाविसहरुमा भने क्षति पुगेको छ।

निवेदन

राहतका लागि निवेदन दिनेहरुमध्ये केही जिल्लाहरुमा उनीहरुले नगद पाएका छन्।

केही जिल्लामा भने राहत वितरण अझै शुरु हुन सकेको छैन्।

धनुषाको गोपालपुरका रामकृष्ण यादवले घर भत्केपनि राहत नपाएको गुनासो गरे।

उनले भने, “भूकम्पका कारण मेरा कच्ची र पक्की दुईवटै घर चर्केका छन्, जिल्ला प्रशासनमा निवेदन दिएपनि अहिलेसम्म केही भएको छैन्।”

तर पर्सा जिल्लाका सञ्चारकर्मी अनिल तिवारीले सक्कली पीडितभन्दा बढी नक्कलीले राहतका लागि निवेदन दिएको बताए।

नक्कली

उनले थपे, “बारा र पर्सामा सक्कली पीडितभन्दा बढी नक्कलीले नै राहतका लागि निवेदन दिएको पाइएको छ।”

निवेदन दिनेहरुमध्ये पीडितको पहिचान नगरी राहत वितरण गरिए नक्कलीहरुले बढी पाउने संभावना रहेको मधेशी जनाधिकार फोरम नेपालका नेता बजरंग यादव बताउँछन्।

उनी भन्छन्, “घर चर्केका र नचर्केकाले पनि निवेदन दिएका छन्, राजनीतिक दबाबमा जसले पनि पाउन सक्छ।”

धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले निवेदन आउने क्रम नरोकिएकाले राहत वितरण सम्बन्धमा निर्णय हुन नसकेको बताए।

उनले भने, “मुख्य कुरा ठूला घरहरुको प्राविधिक जाँच गर्ने हो, उनीहरुले त्यस्ता घरहरु सुरक्षित रहे वा नरहेको जाँच गराउन खोजेका छन्।”

राहत वितरणबारे तराइका जिल्लाहरुमा फरक-फरक मापदण्ड बनाइएको छ।