विदेशी पर्यटक भित्र्याउने 'प्रयास शुरु'

  • 3 जुन 2015
सगरमाथा तस्वीर कपीराइट AFP
Image caption भूकम्पपछि पर्वतारोहण र पदयात्रालाई थप सुरक्षित बनाउने उपायहरुबारे छलफल भइरहेको बताइएको छ

नेपाल असुरक्षित गन्तव्य हो भनी विदेशी पर्यटकहरुमा परेको भ्रम हटाउन विभिन्न प्रयासहरु शुरु गरिएको पर्यटन विभागका एक अधिकारीले बताएका छन्।

नेपालमा विदेशी पर्यटक आउने मुख्य याममै आएको प्राकृतिक विपद्बाट पर्यटकहरु समेत प्रभावित भएका थिए।

भूकम्पका कारण पर्यटक आकर्षित गर्ने कयौं ऐतिहासिक सांस्कृतिक धरोहरहरु ध्वस्त हुनुका साथै पदयात्रा तथा पर्वतारोहण क्षेत्र समेत नराम्ररी प्रभावित भएको थियो।

जसका कारण झन्डै १ लाख ७५ हजार पर्यटकहरुले नेपाल आउने कार्यक्रम रद्द गरेको पर्यटन व्यवसायीहरुले बताएका छन्।

कारण

उनीहरु नेपाल आउनबाट रोकिनुका अन्य कारणहरु पनि देखिन्छ ।

ट्रेकिंग एजेन्ट्स एसोसिएसन् अफ नेपाल टानका अध्यक्ष सुमन पाण्डेले भने, “नेपालमा अझै त्रासको वातावरण छ र असुरक्षाको बेला अन्तर्राष्ट्रिय बिमा कम्पनीहरु पर्यटकहरुमा लगानी गर्न चाहँदैनन्।”

“तेस्रो र मुख्य कुरा के हो भने विभिन्न देशले आफनो ट्राभल एड्भाइजरी अर्थात भ्रमण सुझावमा नेपाल सुरक्षित नभएकोले नजान भनेका छन्।”

भूकम्पको चोटबाट मुक्त हुने प्रयास र परकम्पसँग अभ्यस्त भएको एक महिना बितेपछि भने नेपाली अधिकारीहरुले पर्यटकहरु भित्र्याउन पहल थालिसकेको बताएका छन्।

पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले भने, “पशुपतिनाथ, बौध्दनाथ जस्ता सम्पदा क्षेत्रा खुल्ला गरिसकिएकोको छ, jसन्तपुर दरबार दुई हप्तापछि खुल्नेछ।”

प्रयास

अन्तर्राष्ट्रियस्तरमा नेपालमाथl परेको छाप हटाउन पहलको खाका पनि कोरिसकिएको बताइएको छ।

महानिर्देशक गौतमले भने, “विभिन्न राजदूतावाससँग छलफल गर्ने, उनीहरुलाई नै वास्तविकता देखाउने, सुझाव माग्ने काम गछौं, मलाई विश्वास छ त्यसपछि उनीहरु सकारात्मक हुनेछन्।”

बिमा र ट्राभल एड्भाइजरीमा पनि नेपाल सुरक्षित छ भनेर भन्न लगाउनेछौ।”

कम्तीमा ६ महिनाभित्र यो काम गर्ने उनी बताउँछन्।

नेपालको २० प्रतिशत पर्यटन क्षेत्रमा मात्र भूकम्पको असर परेको र बाँकी क्षेत्र सुरक्षित भएको प्रचार सरकारले गरिरहेको छ।

पर्यटन व्यवसायीहरु भन्छन् यो वसन्त ऋतुमा नेपालले प्रत्यक्ष रुपमा १० अर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको छ भने अप्रत्यक्ष असर त्यो भन्दा बढी देखिएको छ।

उनीहरुका अनुसार नेपालको आम्दानीको मुख्य स्रोतमध्येको एक मानिने पर्यटन क्षेत्रमा देखिएको यो अस्तव्यस्ततालाई बेलैमा नसुल्झाए यसले पर्यटनमा दुरगामी असर पार्नेछ।