ज्यानको धम्कीपछि तसलिमा अमेरिका पुगिन्

  • 3 जुन 2015
Image caption भारत र बंगलादेशमा रहेका मुस्लिम समूहहरुले पछिल्लो दुई दशकभित्र उनको धेरैजसो विरोध गर्दै आएका छन्।

कट्टरपन्थी समूह अलकायदाबाट ज्यान मार्ने धम्की आएपछि चर्चित बनेकी बंगलादेशी लेखिका तथा मानव अधिकारीकर्मी तसलिमा नसरीन भारतबाट भागेर अमेरिका पुगेकी छिन्।

एउटा मानवअधिकारवादी संस्थाका अनुसार उनी अघिल्लो साता अमेरिका पुगेकी हुन्।

बंगलादेशमा धर्म निरपेक्षताको वकालत गर्दै आएका ३ जना ब्लगरहरुको हत्यामा संलग्न समूहले नै उनलाई धम्की दिएको बताइएको छ।

नसरीनले सामाजिक सञ्जाल ट्वीटरमा बंग्लादेशका नास्तिक ब्लगहरुहरुको हत्यामा जिम्मेवार इस्लामवादी उग्रवादीबाट धम्की आएको भन्दै आफू भारतमा असुरक्षित रहेको लेखेकी छिन्।

बाध्य

त्यसबारे भारतीय अधिकारीहरुसँग छलफलका लागि भेटघाट गर्न कोशिस गरे पनि समय नपाएको उल्लेख गर्दै उनले सुरक्षित महसुस गरेपछि मात्रै भारत फर्कने जनाएकी छिन्।

चरमपन्थी इस्लामको कट्टर आलोचक रहेकी ५२ वर्षीया महिला अधिकारवादी लेखिका नसरीन, उग्रवादी मुसलमान समूहले आफ्ना लेखहरुको निन्दा गर्दै ज्यान मार्ने धम्की दिएपछि सन् १९९४ मा बंगालदेश छाड्न बाध्य भएकी थिइन्।

त्यसपछिको एक दशक युरोप र अमेरिकामा बिताएकी उनलाई सन् २००४ मा भारतले अस्थायी रुपमा बस्न अनुमति दिएको थियो।

जिम्मेवारी

न्युयोर्कस्थित अधिकारवादी समुह सेन्टर फर इन्क्वाएरी (सिएफआइ)ले एउटा विज्ञप्ति जारी गर्दै नसरिनलाई उनको ज्यानमाथिको खतरालाई निवारण गर्न अमेरिका ल्याउन मद्दत गरेको जनाएको छ।

बुधवार न्युयोर्क पुगेकी उनीले सिएफआइका प्रतिनिधिसँग भेटघाट गरेकी थिइन्।

यसअघि अलकायदाले बांगलादेशी ब्लगर्सहरु अविजित राय, वंशीकुर रहमान र अनन्त विजय दासको हत्याको जिम्मेवारी लिएको थियो।