फिफा भ्रष्टाचारको तरंग नेपालसम्म

  • 4 जुन 2015
तस्वीर कपीराइट
Image caption भ्रष्टाचारमा संलग्न रहेको आरोपमा केही पहिले फिफाका सातजना उच्च अधिकारीहरु जुरिखमा पक्राउ परेका थिए।

विश्वको ठुलो मध्येको एक मानिएको फिफाको भ्रस्टाचार काण्डमा मुछिएका फिफा अध्यक्ष सेप ब्लाटरले राजीनामा दिएपछि त्यसले विश्वभरका फिफा सदस्य राष्ट्रहरुमा तरंग ल्याएको छ।

अनुसन्धानको प्रकृया गहिरिँदै जाँदा साना-ठूला थुप्रै राष्ट्रहरु शंकाको घेरामा तानिने अनुमान गरिएको छ, जसमा नेपाललगायत एशिया र अफ्रिकाका थुप्रै राष्ट्रहरु पर्ने देखिएको छ।

फुटबलमा हुने भ्रष्टाचारविरुद्ध लड्ने भन्दै विवादका माझ पाँचौपटक विश्व फुटबल महासंघ फिफाको अध्यक्ष जितेका सेप ब्लाटरले एक हप्ता नबित्दै आफ्नो अभियानमा धेरैले साथ नदिएको भन्दै राजीनामा दिएका हुन्।

युरोपको कडा विरोधलाई खेप्न एशिया र अफ्रिकालाई आफू अनुकुलको हतियार बनाउँदै आएका ७९ वर्षीय ब्लाटरका भ्रष्टाचारहरु यी मुलुकहरुमै मौलाएको थुप्रै प्रमाण भेटिएपछि कतिपय फुटबल अधिकारीहरु सजायका भागिदारसमेत बनिसकेका छन्।

तरंग

फिफाको यो तरंग अब फेरी फिफाका थुप्रै सदस्य राष्ट्रहरुमा फैलिने बताइएको छ।

नेपाल त्यस्तै अनुसन्धानको क्रममा रहेको एक राष्ट्र हो।

एन्फाका अध्यक्ष गणेश थापा अहिले फिफाको अनुसन्धानको क्रममा निलम्वनको स्थितिमा छन्।

अघिल्लो वर्ष एन्फाकै पदाधिकारीले मुद्दा हालेपछि नेपाली फुटबलभित्रको विवाद छताछुल्ल भएको थियो।

मुद्दा

मुद्दा हाल्ने मध्येका एक एन्फाका उपाध्यक्ष समेत रहेका कर्मा छिरिङ शेर्पाले भने, “पारदर्शिता भनेको भ्रष्टाचारविरुद्धकै आवाज हो। विधान र विधि अनुसार चल्नुपर्छ भनेको पनि त्यही हो।”

अध्यक्ष थापा र उनका छोराले अनैतिक रुपमा पैसा लिएको फिफाको अनुसन्धानको क्रममा सार्वजनिक भएपछि त्यसले अन्तरराष्ट्रिय रुप लिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फाको भ्रष्टाचारलाई तामेलीमा राखेपछि त्यो विषय मत्थर भएको थियो। तर थापाले फिफाबाट सफाइ नपाएकोले अड्किएको अवस्थामा रहेको यो मुद्दा अहिले यो बल्झिएको छ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल छानबिन फेरी जरुरी रहेको बताउछन्।

विवाद

उनले भने, “खेलकुदमा देखिएको भ्रष्टाचारलाई छानबिन गरेर यसलाई नियन्त्रण गर्न विशेष अध्ययन गर्नुपर्ने भएकोले म त्यसतर्फ लाग्छु।”

एन्फा अध्यक्ष थापाको २० वर्ष भन्दा लामो कार्यकालमा भएका अधिकांश विवाद भ्रष्टाचार नभई फुटबलको व्यवसायिकरणमा भएको कतिपयको भनाई छ।

कतिपयले भने विवादलाई राजनीति पनि भन्ने गर्छन् ।

फिफा भित्र अनुसन्धान भइरहेको विश्व फुटबलकै सबैभन्दा ठुलो भ्रष्टाचारका छिटाहरु एन्फामा परेको दाबी गर्नेहरु थुप्रै छन्।

आन्तरिक र बाह्य अनुसन्धानको दायरा बढे अलमलिएको नेपाली फुटबलको यथार्थ खुल्ने फुटबलकर्मीहरु बताउँछन् ।