‘थप २० हजार युवा परिचालन गर्ने तयारी’

  • 4 जुन 2015
ध्वस्त बारपाक
Image caption अस्थायी आवास, स्वास्थ्य संस्था र विद्यालयका अस्थायी टहरा निर्माणमा थप युवा परिचालन गर्ने योजना बनेको छ

भूकम्पपछि अस्थायी संरचना बनाउने कामका लागि थप २० हजार युवा परिचालन गर्ने सरकारले जनाएको छ।

हाल स्वतस्फुर्त रुपमा परिचालन भएका युवाहरुको कामलाई मान्यता प्रदान गर्दै थप युवा परिचालनका लागि विभिन्न संघ-संस्थाहरुसंग सम्झौताको काम भइरहेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा युवा परिचालन कार्यविधि अनुसार परिचालन हुने त्यस्ता युवाहरुलाई सरकारी प्रसंसापत्र दिने व्यवस्था गरिएको बताइएको छ।

भूकम्पपछिको उद्धार र राहतका काममा स्वस्फुर्त रुपमा परिचालन भएको भन्दै युवा र युवा समुहहरुको निकै प्रसंसा भएको छ।

युवाहरुको यस्तो सक्रियतालाई शुरुका दिनमा टाढाबाट मात्र हेर्दै आएको सरकारले उनीहरुको कामलाई सरकारी मान्यता दिने र अव पुन:निर्माणको कामका लागि उनीहरुको साथ लिने योजना अघि सारेको छ।

कार्यविधि

त्यस्तो प्रयासको थालनी भइसकेको बताउँदै युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले थप युवा परिचालनको तयारी जोडतोडका साथ अघि बढिरहेको बताए।

उनले भने, "परिचालित युवाहरुलाई मान्यता दिने र थप परिचालन गर्ने तयारी भइरहेको छ।

“नेपाल स्काउट लगायतका केही संघसंस्थाहरुसंग युवा पठाउने सम्झौता भइसकेको छ र अन्यसंग पनि सम्झौताको तयारी भइरहेको छ।"

मन्त्रालयले युवा स्वयंसेवक परिचालनकम लागि कार्यविधि नै बनाइएको छ।

सो कार्यविधिमा रहेर काम गर्ने युवाहरुले वर्षा अघि सरकारले बनाउने अस्थायी संरचनाहरुको निर्माणमा सघाउने अपेक्षा गरिएको छ।

युवाहरुको कामको प्राथामिकता भूकम्पका कारण घर गुमाएका परिवारहरुका लागि बनाइने अस्थायी आवास, स्वास्थ्य संस्था र विद्यालयका अस्थायी टहरा निर्माणमा रहने सचिव शर्माले बताए।

उनले भने, "व्यक्तिको अस्थायी टहरा बनाउने कुरा महत्वपूर्ण छ, स्वास्थ्यचौकीमा विद्यार्थीहरुलाई विद्यालयसम्म पठाउन आवश्यक भवन निर्माणका लागि उनीहरु एक महिनासम्म परिचालन गरिने छन्।"

सम्मान

यसरी परिचालन हुने युवा र युवाहरुको समूहलाई हालका लागि प्रसंशापत्रको मात्र व्यवस्था गरेको मन्त्रालयले जनाएको छ।

तर वर्षायाम पछि गरिने दीर्घकालिन निर्माणका लागि पनि उनीहरुलाई परिचालन गरिने र त्यो पारिश्रमिक सहितको हुने बताइएको छ।

यस वर्ष भूकम्पपछिको युवाहरुले गरेको कामको मूल्याङकन कै आधारमा युवा प्रतिभा सम्मान दिइने समेत सरकारको योजना रहेको जनाइएको छ।