'ह्याकीङ'बारे एफबीआइद्वारा अनुसन्धान

  • 5 जुन 2015
कम्प्युटर तस्वीर कपीराइट Thinkstock
Image caption गएको एप्रिलमा भएको बताइएको पछिल्लो साइबर आक्रमण निकै ठूलो स्तरको देखिएको छ

अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआइले करिब ४० लाख अमेरिकी सरकारी कर्मचारीका व्यक्तीगत विवरणसम्म ह्याकरहरुको अनधीकृत रुपमा पहुँच कसरी भयो भनेर अनुसन्धान गरिरहेको छ।

पुरै संघीय प्रशासनको मानवस्रोत व्यवस्थापनको जिम्मेवारी लिएको पर्सनल म्यानेजमेन्टको कार्यालय ओपीएमले पछिल्लो ह्याकीङ प्रकरणलाई साइबर घुसपैठको संज्ञा दिएको छ।

ह्याकरहरुको आक्रमणपछि सो निकायले सबै प्रभावित पूर्व र बहालवाला कर्मचारीलाई सम्पर्क गर्दै उनीहरुको पहिचान सुरक्षित राख्नेबारे आश्वासन दिइरहेको छ।

आरोप

अमेरिकी अधिकारीहरुले सो आक्रमण चिनियाँ ह्याकरहरुबाट भएको हुन सक्ने बताएका थिए।

तर वासिङटनस्थित चिनियाँ दूताबासले त्यस्तो आरोप गैरजिम्मेवार भएको बताउँदै त्यसो गर्नु प्रत्युत्पादक हुने प्रतिक्रिया दिएको छ।

सो दूताबासले “हतारमा निश्कर्ष ननिकाल्ल” चेतावनी दिएको छ।

पछिल्लो साइबर आक्रमणबाट लगभग सबै संघीय निकायहरु प्रभावित हुनसक्ने बताइएको छ।

सिनेटको इन्टेलिजेन्स समितिको एक सदस्य रहेकी सिनेटर सुजन कोलिन्सले सो आक्रमण चीनबाट सिर्जित भएको हुन सक्ने बताएकी थिइन्।

पछिल्लो साइबर आक्रमणबारे उनले भनिन्, “विदेशी शक्तिले सुरक्षाको हिसाबले उचित मानिएका व्यक्तीहरुबारे जानकारी हासिल गर्ने काम सफलतापूर्वक गरेको यो अर्को संकेत हो।”

'चिन्ताजनक'

वासीङटनस्थित बीबीसीका टम ब्याटम्यान भन्छन् गएको एप्रिलमा भएको बताइएको पछिल्लो साइबर आक्रमण निकै ठूलो स्तरको देखिएको छ।

उनी भन्छन् सरकारले सुरक्षाको दृष्टीले वर्गीकरण गरेका नामहरुलाई लक्षित गरेर सो साइबर आक्रमण गरिनु झनै बढी चिन्ताको विषय भएको छ।

गत वर्ष पनि सोनि पिक्चर्स र कयौं सरकारी निकाय तथा कम्पनीहरुमा साइबर आक्रमण भएको थियो।