युरोपेली अदालतको नयाँ फैसला

  • 6 जुन 2015
तस्वीर कपीराइट Reuters
Image caption भिन्सेन्ट ल्याम्बर्टबारे भएको यो फैसलाको यूरोपभर प्रभाव पर्ने ठानिएको छ।

मानव अधिकारसम्बन्धी युरोपेली न्यायालयले फ्रान्सका चिकित्सकहरुले करीब सात वर्षदेखि 'कोमा' मा रहेका एक व्यक्तिलाई जिउँदो राख्न लगाइएको मेसिनको कृत्रिम सहयोग हटाउन सक्ने फैसला गरेको छ।

एक सडक दुर्घटनामा गम्भीर घाइते भएका भिन्सेन्ट ल्याम्बर्ट गत सात बर्षदेखि अचेत अवस्थामा छन्।

फ्रान्सको उच्चतम अदालतले उनलाई पाइपमार्फत खानपान गराइरहेको प्रकृया रोक्ने पक्षमा फैसला गरेपछि उनका बाबुआमाले उनलाई जिउँदै राखिरहन अपील गरेका थिए।

तर युरोपेली न्यायालयका न्यायाधीशहरुले फ्रान्सेली अदालतको निर्णयलाई स्वीकार्दै त्यसले मानव अधिकार सम्बन्धी युरोपेली कानुन उल्लंघन नहुने ठहर गरेका छन्।

उल्लंघन

युथेनेसिया वा इच्छामरणलाई गैरकानुनी ठानिने फ्रान्समा यो प्रकरणले निकै चर्को बहसको सृजना गरेको छ।

करीब निष्क्रिय रहेको फ्रान्सको सन् २००५ को युथेनेसिया सम्बन्धी कानुन अन्तर्गत त्यहाँ डाक्टरहरुले उपचार रोक्न सक्छन्।

शुक्रबार स्ट्रासबर्गस्थित अदालतले भिन्सेन्ट ल्याम्बर्टलाई नशामार्फत दिइरहेको खानपान रोक्नु मानव अधिकारको उल्लंघन नहुने फैसला ग-यो।

३९ बर्षीय ल्याम्बर्टलाई उत्तर पूर्वी फ्रान्सको एक अस्पतालमा नशाबाट खानेकुरा र पानी दिइ जिउँदो राखिएको छ।

समर्थन

उनलाई सामान्य अवस्थामा ल्याउने आशा नरहेको भन्दै उनकी श्रीमती -याशेल र भाइबहिनीहरुले डाक्टरहरुको सिफारिसप्रति समर्थन जनाएका थिए।

उनकी श्रीमतीले फैसलाबाट कुनै खुशी वा राहत महसुस नभएको बताइन्।

उनले आफ्ना श्रीमान् यो अवस्थामा बाँचिरहन चाहने थिएनन् पनि भनिन्।

तर रोमन क्याथलिक धर्मावलम्बी उनका बाबुआमाले भने त्यसको विरोध गरेका छन्।

ल्याम्बर्टलाई कृत्रिम ढंगले जिउँदो राखिरहन नहुने भनी फ्रान्सको अदालतले निर्णय गरेपछि उनीहरुले स्ट्रासबर्गको युरोपेली अदालतमा अपील गरेका थिए।

उनीहरुका वकिलले फैसला चित्त नबुझे पुन: लडाइ जारी राखिने संकेत दिएका छन्।