ग्रीक प्रधानमन्त्रीद्वारा ऋणदातालाई चेतावनी

  • 6 जुन 2015
तस्वीर कपीराइट Reuters
Image caption ग्रीसको ऋणसम्बन्धी विवाद पुनः अल्झिएको जस्तो देखिएको कतिपयको विश्लेषण छ

ग्रीक प्रधानमन्त्रीले ऋणलाई लिएर आफ्नो मुलुकलाई ‘अपमानित’ नगर्न अन्तर्राष्ट्रिय ऋणदाताहरुलाई चेतावनी दिएका छन्।

प्रधानमन्त्री एलेक्सिस त्सीप्रासले वार्ताहरु गम्भीर मोडमा पुगे पनि ऋणदाताहरुको प्रस्ताव वास्तविक खालको नभएको बताए।

आफ्नै दल सिरिजा पार्टीबाट ऋणदाताहरुको प्रस्तावको विरोध भइरहेका बेला त्सीप्रासले त्यसबारे संसदको आपतकालीन बैठकलाई जानकारी गराएका हुन्।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषलाई शुक्रबार पुनः दिनुपर्ने ३० करोड युरो तिर्न ग्रीसले ढिलाई गरेको थियो।

धूर्त्याइ

युरोपियन युनियन र मुद्रा कोषको योजनालाई त्सीप्रासले युरोपका लागि ‘खराब क्षण’ र ‘वार्ता गर्ने धूर्त्याइ’ भएको टिप्पणी गरे।

हालैका महिनाहरुमा सहमत भएका सुधारका उपायहरुबाट जर्मन ऋणदाताहरु पछाडि हटेको उनले आरोप समेत लगाए।

त्यस्तै मितव्ययीता अन्त्यसम्बन्धी पछिल्लो प्रस्तावलाई हेर्न उनीहरु विफल भएको त्सीप्रासको भनाई थियो।

ऋणमा राहत दिनुपर्ने माग ग्रीक योजनाको एउटा महत्पूर्ण हिस्सा भएको बताइएको छ।

अपमान

युरो मुद्रा प्रचलनमा रहेका देशका अर्थमन्त्रीहरु र युरोपियन कमिसनका प्रमुखसँग यसै साता ब्रसेल्समा भएको वार्तामा उनीहरुले प्रस्ताव पेश गरेका थिए।

उनीहरुको प्रस्तावको शुक्रबार आलोचना गर्दै त्सीप्रासले भने, “कुनै पनि सम्झौताको उद्देश्य समस्याको समाधानका लागि हुनुपर्छ, सारा मानिसहरुलाई अपमान गर्नका निम्ति हुनु हुँदैन।”

उनले आफ्नो प्रस्तावमात्र ‘वास्तविक’ खालको भएको दाबी गरे।