'साना दलहरु सकारात्मक'

  • 6 जुन 2015
प्रमुख दलका नेताहरुको र्बठक तस्वीर कपीराइट Nepal PMO
Image caption सरकार तथा विपक्षमा रहेका दलहरुबीच सहमतिका संकेत देखिएको बताइएको छ (फाइल फोटो)

प्रमुख चार दलले ६ देखि ८ प्रदेशसम्म बनाउन सकिने भनी अघि सारेको प्रस्तावमा विपक्षी मोर्चाका साना घटकहरु सकारात्मक देखिएको वार्तामा सहभागी नेताहरुले जनाएका छन्।

३० दलीय मोर्चाका प्रमुख दुई घटक एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसंगमात्रै सीमित सत्तारुढ दलहरुको वार्ता शनिबार मोर्चाका अन्य साना दलहरुसम्म पनि विस्तार भएको थियो।

स्वयम् आफ्नो नेतृत्वकर्ता एकीकृत माओवादीप्रति पनि आशंका जनाउंदै आएका विपक्षी मोर्चाका साना घटक र सत्तारुढ दलहरु कांग्रेस तथा एमालेबीचको पछिल्लो वार्ताले अविश्वास हटाउन मद्दत गरेको नेताहरुले बताएका छन्।

सहमतिबाट संविधान जारी गर्ने प्रयास असफल भएको भन्दै संविधानसभाले प्रश्नावली समिति बनाए पछि नारावाजी र तोडफोड गर्दै विपक्षीदलहरु संविधानसभाको बैठक बहिस्कार गरेर हिडेको ४ महिना नाघिसकेको छ।

विवादित विषय

लामो समय सम्मको आन्दोलन र संविधानसभा बहिस्कार पछि फेरि वार्ताको टेवुलमा पुगेका उनीहरुको मोर्चासँग शनिबार संविधानका विवादित विषयमा चार ठूला दलहरुका बीचमा भएको छलफलको जानकारी गराउने काम भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले बताए।

उनले भने “उहाँहरुको राय लिने, प्रतिक्रिया बुझने र अहिले सम्म भएको छलफललाई त्यहाँ प्रस्तुत गर्ने काम भएको छ र सकारात्मक रुपले छलफल भएको छ।“

संविधानका विवादित विषयमा चारदलका बीचमा भैरहेको छलफलमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार सहभागी हुदै आएका थिए।

तर लामो लामो समय सम्म नेपाली काँग्रेस र नेकपा एमाले सँग छलफल नगरेका मोर्चाका सबै घटकको धारणा बुझ्न सामूहिकरुपमा बोलाइएको थियो।

४ दलका तर्फबाट संघीयता र निर्वाचन प्रणालीका बारेमा भएका छलफलको जानकारी गराइको बताइएको छ।

६ देखि ८ प्रदेश बनाउन सकिने कुरा प्रधानमन्त्रीले राखेको र आफुहरुले त्यसलाई सकारात्मक रुपमा लिएको ३० दलीय मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए।

उनले भने “अविलम्व यसलाई सहमति गरेर गरेर अगाडि बढौं र यसमा जसले जस्तो लचकता अपनाउनु पर्छ त्यसमा तयार हुनुपर्छ, त्यसका लागि हामी तयार छौं। तपाईहरु ४ दलका नेताहरुले गरेको प्रयत्नलाई अगाडि बढाउनुहोस भन्यौं।“

सहमति

छलफल पछि ४ दलका नेताहरु गम्भीरतापूर्वक संविधान सहमतिमै जारी गर्न लागि परेको अनुभूति भएको मोर्चाका नेताहरुले बताएका छन्।

शनिबारको छलफलले दलहरुबीच गत केही महिना यता देखिएको अविश्वास र दूरी घटाउने काम गरेको नेपाली काँग्रेसका नेता रमेश लेखकले बताए।

उनले भने “साझा ठाँउमा बसेर आफ्न आफ्ना धारणा राख्ने र त्यसमा अरु दलहरुले पनि छलफल र विमर्श हुने सक्ने अवस्था श्रृजना भयो। राजनीतिमा टाढिँदै गएको अवस्था थियो, त्यसमा नजिक ल्याउने काम गर्यो।“

विवादित विषयलाई टुडगो लगाउन लगातार छलफलमा व्यस्त रहेका प्रमुख दलहरुले मोर्चामा रहेका दलहरुको धारणालाई समेटेर सहमतिको खाका बनाउने र त्यसलाई पुन छलफल गराउने बताएको मोर्चाका नेताहरुले जनाएका छन्।

आफुहरुले विवादित विषयमा छिट्टै सहमति गर्ने भन्दै संविधानसभाको बैठक यही २५ गते सम्मका लागि सार्न लगाएका दलहरुले अन्य साना दलहरुसँग पनि आवश्यकता अनुसार छलफल गरिने बताएका छन्।