‘एक साताभित्र पाठ्यपुस्तक अभाव अन्त्य हुने’

  • 6 जुन 2015
Image caption भूकम्पका कारण ८ हजार विद्यालयका ३० हजार कक्षा कोठा भत्किएको तथ्याङक छ

भूकम्प प्रभावित जिल्लाहरुमा देखिएको पाठ्यपुस्तकको अभावबारे आइतबार ठोस निर्णय लिइने र अबको एक साताभित्र समस्या समाधान हुने शिक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

अति प्रभावित जिल्लामा किताब किन्नका लागि आवश्यक पर्ने बजेट शिक्षा विभागले व्यवस्था गरिसकेको बताइएको छ।

वितरकहरुले जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउन नसकेको कारण देखिएको समस्या अन्त्य गर्न आईतबार उनीहरुलाई छलफलमा बोलाईएको मन्त्रालयले जनाएको छ।

भूकम्पपछि लामो समयसम्म बन्द रहेका विद्यालयहरु यसै सातादेखि सञ्चालनमा आएका छन्।

पहल

विद्यालय सञ्चालनमा आएपनि धेरै विद्यार्थीहरुसँग पाठ्यपुस्तक नभएको जानकारी शिक्षा विभागमा आएको छ।

दैनिकजसो पाठ्यपुस्तक नभएको जानकारी आउन थालेपछि पहल थालेको विभागले समाधानका निम्ति दुई वटा विकल्प प्रस्तुत गरेको शिक्षा मन्त्रालयले जनाएको छ।

एउटा थप किताब किन्न आर्थिक व्यस्थापन र अर्को स्थानीय विक्रेतामार्फत जिल्ला-जिल्लामा पाठ्यपुस्तक पुर्याउने रहेको बताइएको छ।

विद्यार्थीहरुले पुस्तक किन्नु नपर्ने गरी गरिएको व्यवस्थाबारे जानकारी दिदै शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, “किताब किन्न चाहिने अतिरिक्त रकमको व्यवस्था भईसकेको छ, स्रोत विद्यालयमा व्यवस्था गर्ने काम भयो, अब बजारमा पाठ्यपुस्तक लैजान जनक शिक्षा सामाग्री केन्द्र र नीजि क्षेत्रसँग छलफल गर्दैछौँ।”

सबैभन्दा बढी समस्या सिन्धुपाल्चोक र दोलखामा देखिएको मन्त्रालयले जनाएको छ।

निर्णय

हाल जिल्ला शिक्षा कार्यालयहरुले सबै विद्यालयहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकको तथ्याङक संकलन गर्ने काम गरिरहेको र आईतबार ठोस निर्णय गरिने प्रवक्ता लम्सालले बताए।

उनले भने, “आगामी हप्ताबाट विद्यालयमा अस्थायी कोठा सुरक्षित रुपमा तयार भएको छ र पठनपाठन गर्न सकिने छ भने पाठ्यपुस्तक पुर्याउने गरी ठोस निर्णय गर्छ।”

पाठयपुस्तकका कारण विद्यार्थीहरुको पढाई नरोकिने र हाल छपाई भईसकेका पाठ्यपुस्तकले नपुगे थप छपाईको व्यवस्था समेत गरिने मन्त्रालयले जनाएको छ।

भूकम्पका कारण ८ हजार विद्यालयका ३० हजार कक्षा कोठा भत्किएको मन्त्रालयको तथ्याङक छ भने अधिकांश घर भत्किएका विद्यार्थीहरु किताबविहीन रहेको बताइएको छ।