फिफामा व्यापक हिनामिना भएको संकेत

  • 7 जुन 2015
तस्वीर कपीराइट no credit
Image caption वार्नरले आफूलाई बलीको बोको बनाइएको टिप्पणी गरेका छन्

बीबीसीको एउटा खोजले विश्व फुटबल महासंघ फिफाले उसका पूर्व उपाध्यक्षलाई पठाएको एक करोड डलरको व्यापक हिनामिना भएको देखाएको छ।

पूर्व उपाध्यक्ष ज्याक वार्नरले उक्त रकम व्यक्तिगत ऋण तिर्न, नियमित खर्च गर्न तथा कालो धनलाई वैध बनाउन प्रयोग गरेको कागजातहरु फेला परेको छ।

उक्त रकम सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप फुटबल हुनुअघि उक्त मुलुकको तर्फबाट फिफालाई पठाइएको थियो।

सो रकम क्यारेबियन मुलुकका अफ्रिकी प्रवासीमाझ फुटबल बिकासका लागि खर्च गरिने वाचा गरिएको थियो।

व्यक्तिगत

तर बीबीसीले हेरेका कागजातहरुबाट वार्नरले आफ्नो व्यक्तिगत ऋण तिर्न देखि लिएर सम्पत्ति शुद्धीकरणका लागि उक्त रकम प्रयोग गरेको देखिएको छ।

आधा रकम त वार्नरले आफ्नो मुलुक ट्रिनिडाडमा रहेको एउटा सुपरमार्केट चेनलाई तिरेका छन्।

थप १६ लाख डलर उनको क्रेडिट कार्डको बिल र व्यक्तिगत ऋण तिर्न खर्च गरिएको छ।

साथै तीन लाख डलर उनीसित सम्बद्ध मानिसहरुले झिकेका छन्।

वार्नरले भने आफूले कुनै पनि गल्ती नगरेको भन्दै आफूलाई बलीको बोको बनाइएको टिप्पणी गरेका छन्।