जोर्ज र श्यारलोटका तस्वीर सार्वजनिक

  • 7 जुन 2015
तस्वीर कपीराइट epa
Image caption श्यारलोट जन्मेको केही हप्तापछि आमा क्याथरिनले ती तस्वीरहरु खिचेकी हुन्

केन्सिङटन राजदरबारले राजकुमार जर्ज र उनकी बहिनी श्यारलोटका केही तस्वीर सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएका चारवटा तस्वीरमा राजकुमारी श्यारलोटलाई राजकुमार जर्जले काखमा राखेर खेलाइरहेको देखिन्छ।

तस्वीरमा उनीहरु नरफकस्थित ड्युक र डचेस अफ क्याम्ब्रिजको पारिवारिक गृहको अनमर हलमा क्रिम रंगको सोफामा बसेका छन्।

श्यारलोट जन्मेको केही हप्तापछि आमा क्याथरिनले ती तस्वीरहरु खिचेकी हुन्।

त्यसअघिको ट्वीटमा केन्सिङटन प्यालेसले ती तस्वीरहरु विशेष रहेको जनाएको थियो।

आमाको शोख

हरेक तस्वीरमा सेतो पहिरनमा श्यारलोट आफ्ना दाजुको काखमा छन् र राजकुमारले सेतो शर्ट नीलो कट्टु र नीलै मोजा लगाएका छन्।

एउटामा उनले बहिनीको निधारमा म्वाइ खाएका छन्।

ड्युक र डचेज अफ क्याम्ब्रिज राजकुमारी जन्मेको केही समयपछि नै लण्डनबाहिर अनमर हलमा रहँदै आएका छन्।

राजकुमार विलियम र क्याथरिन राजकुमारी श्यारलोट र दुई वर्षे राजकुमार जर्जलाई हुर्काउन एकजना पूर्णकालीन धाइआमासहित आउँदा केही वर्ष त्यहीँ रहने ठानिएको छ।

फोटो खिच्नु डचेसको एउटा शोख रहेको शाही वेवसाइटमा राखिएको उनको परिचयमा जनाइएको छ।

तस्वीर कपीराइट Other

तस्वीरहरु क्यानन इओएस फाइभडी मार्क टु क्यामेराले खिचिएका हुन्।

अनुष्ठान

राजकुमार जर्जको पहिलो औपचारिक तस्वीर सन् २०१३ मा सार्वजनिक गरिएको थियो।

उक्त तस्वीर डचेसका पिता माइकल मिडलटनले उनीहरुको बकलबरी बर्कशायरस्थित घरको बगैँचामा खिचेका थिए।

शुक्रबार राजकुमारी श्यारलोटलाई जुलाइ ५ मा धार्मिक अनुष्ठान गरिने घोषणा गरिएको थियो।

क्रिष्टियनीङ भनिने अनुष्ठान सेन्ट मेरी म्यागडलीन चर्चमा गरिने बताइएको छ।

दुर्लभ

शाही संवाददाता पीटर हन्टको टिप्पणी छ - तस्वीरले भावी ब्रिटिश राजसंस्थाको दुर्लभ दृश्य सार्वजनिक गरेको छ।

शाही बच्चाहरु हुर्किँदै जाँदा यस्ता तस्वीरहरु साच्चै नै दुर्लभ बन्नेछन्।

राजकुमारी श्यारलोटको जुलाइमा धार्मिक अनुष्ठान हुँदा पनि उनीहरु दुई एकसाथ रहेको तस्वीर खिचिनेछन्।

चारवटै तस्वीरमा केही हप्ता मात्रकी शिशु राजकुमारी उनको दाजु राजकुमार जर्जको अँगालोमा छिन्।

ब्रिटेनका भावी राजा बन्ने भाग्य लिएर आएका राजकुमार आफ्नो परिवारमा थपिएकी सदस्यसँग निरन्तर घुलमिल हुँदैछन्।

आशा

उनका बाबुआमा २२ महिने छोरा र १ महिने छोरीबीच राजकुमारहरु विलियम र ह्यारी जस्तै नजिकको सम्बन्ध कायम हुने आशामा छन्।

ह्यारीले एक अर्काको कुरा बुझ्ने गरेको र एक अर्कालाई सहयोग गर्ने गरेको बताउँदै आएका छन्।

विलियमले कसैलाई हालै भनेका थिए, जोर्ज असाध्यै जीवन्त छन् र श्यारलोटले आफ्ना आमाबाबुलाई ‘केही रातको निन्द्राविहीन’ पारेकी छन्।

श्यारलोट मे २ २०१५ मा लण्डनस्थित सेन्ट मेरिज अस्पतालमा जन्मेकी थिइन्।

ब्रिटिश राजगद्दीको चौथो उत्तराधिकारी उनको पूरा नाम हर रोयल हाइनेश प्रीन्सेस श्यारलोट एलिजाबेथ डायना अफ केम्ब्रीज भन्ने दर्ता गरिएको छ।