चीनका थप जहाज ल्याउन निगम ‘अनिच्छुक’

  • 10 जुन 2015
नेपाल एअरलाइन्स तस्वीर कपीराइट na
Image caption आन्तरिक उडानमा प्रयोग गरिएका चिनियाँ विमानमा विभिन्न समस्याहरु आइरहेको बताइन्छ

चीन सरकारले नेपाललाई दिने भनेका ४ वटा जहाज लिन ताकेता गरिरहेको तर नेपाल वायु सेवा निगमले ति जहाज ल्याएर घाटाको व्यापार गर्न नसकिने भन्दै ल्याउन अनिच्छा प्रकट गरेको बताइएको छ।

चीनबाट ल्याएर प्रयोगमा रहेका दुइवटा जहाज प्राविधिक र निकै खर्चिलो रहेकाले र दिने भनिएका थप जहाज पनि त्यस्तै भएकाले लिनु भन्दा नलिनु नै उपयुक्त हुने निगमको निष्कर्ष रहेको बताइएको छ।

जहाजबारे दुई देशका सरकारबीच संझौता भएकाले समस्या सुल्झाउन सरकारसँगै उक्त विषयमा छलफल भैरहेको बताइएको छ।

केही अनुदान र केही सहुलियत ऋणमा आन्तरिक उडानमा प्रयोग हुने गरि २ वटा ठुला र ४ वटा सान जहाज ल्याउन नेपाल सरकार र चीन सरकारबीच २०७० साल मंसिरमा सम्झौता भएको थियो।

समस्या

सम्झौता बमोजिम एउटा सानो र अर्को ठुलो जहाज प्रयोग गर्दै आएको नेपाल वायुसेवा निगमले ति दुबै जहाजमा प्राविधिक लगायतका विभिन्न समस्या झेल्दै आइरहेको बताइन्छ।

फेरी त्यस्तै जहाज लिन चिन सरकारले पत्राचार गरेपछि निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारले भने “व्यवसायिक संस्था भएकोले घाटाको व्यापार गर्ने कुरा आएन, यो चलाउँदा हामीले घाटा सहनु पर्ने जस्तो भयो, विमा रकम बढी छ, संचालन खर्च पनि बढी छ, पार्टपूर्जा बनाउन देखी भाषाको समेत समस्या छ।”

समस्या भएपनि जहाज ल्याउने भन्ने दुई देशको सरकारका बीचको सम्झौता भएका हुनाले समाधान बारे मन्त्रालयसँग छलफल भइ रहेको निगमले जनाएको छ।

यदि जहाज ल्याउने नै भए सरकारले संचालनका लागि अनुदानको व्यवस्था गर्नु पर्ने निगमको भनाई छ।

महाप्रबन्धक कंसाकारले भने “अनौपचारिक ढंगले मन्त्री र सचिव ज्यु सँग छलफल गरिसकेका छौं आधिकारीक निर्णय हुन बाँकी छ।”

चीनबाट ल्याइएका दुई वटा जहाज बाहेक नेपाल वायु सेवा निमगसँग हाल अन्तराष्ट्रिय उडानका लागि ४ वटा जेट र आन्तरिक उडानका लागि ३ वटा टुइनअटर जहाज रहेका छन्।

चीनले दिने ६ वटा जहाज थपिए पछि आन्तरिक उडानमा निकै ठुलो मद्दत पुग्ने विश्वास सरकारले लिएको थियो।