फिफाका पूर्व उपाध्यक्षद्वारा अमेरिकाको आलोचना

  • 10 जुन 2015
वार्नर तस्वीर कपीराइट Reuters
Image caption फिफा विगत दुई साता देखि भ्रष्टाचारका आरोपहरुका कारण संकटमा परिरहेको छ

अमेरिकी न्याय मन्त्रालयले विश्व फुटबलको प्रशासकीय निकाय फिफाका पूर्व तथा वर्तमान अधिकारीहरुबिरुद्ध भ्रष्टाचार र आर्थिक अनियमितामा संलग्न रहेको आरोप लगाउदै छानबिन अघि बढाइरहेको बेला फिफाका पूर्व उपाध्यक्ष ज्याक वार्नरले आफूबिरुद्धका आरोपहरु अस्वीकार गर्दै अमेरिकाको कडा आलोचना गरेका छन्।

ट्रिनिडाड र टोबागोमा आफ्नो स्वामित्वमा सञ्चालित पत्रिकामा एक संपादकीय लेखमार्फत वार्नरले उनी र १३ जना अन्य फिफाका पूर्व र बहालवाला अधिकारीहरुबिरुद्ध लगाइएको मुद्दाले अमेरिका "पूर्वाग्रही" भएको देखिएको बताएका छन्।

अस्वीकार

उनको भनाइमा वासिङ्टनले सन् २०१०को विश्व कप अघि दक्षिण अफ्रिकाले फिफा अधिकारीहरुलाई घुस खुवाएको आरोप लगाएर वासिङटनले नेल्सन मण्डेलाको स्मृतीमा समेत दाग लगाउने कोसिस गरि रहेको छ।

वार्नरले आफूले कुनै गल्ती नगरेको बताएका छन्।

फिफा विगत दुई साता देखि भ्रष्टाचारका आरोपहरुका कारण संकटमा परिरहेको छ।

अमेरिकी न्याय मन्त्रालयले फिफा भित्र भएको भनिएको आर्थिक अनियमितता र रकम अपचलनबारे १४ अधिकारीबिरुद्ध कानूनी छानबिन थालेपछि वार्नरलाई सुपुर्दगी गर्न अमेरिकाले आग्रह गरिसकेको छ।

तर वार्नरले आफूबिरुद्धका आरोपहरु अस्वीकार गर्दै लेखेका छन्, “अमेरिका यस्ता आरोपहरु निष्पक्ष तरिकाले छानबिन गर्ने उपयुक्त निकाय होइन। ”

उनले टिप्पणी गरेका छन्, यदी अमेरिकाले सन् २०२२को विश्वकप आयोजना गर्ने अधिकार प्राप्त भएको भए अहिले यो प्रकरणको उत्पत्ती नै हुने थिएन।