भूकम्पका कारण करीब ७ खर्बको क्षति: आयोग

  • 12 जुन 2015
पुनर्निर्माण
Image caption दातृ सम्मेलन हुनु अघि सरकारले भूकम्पबाट भएको क्षतिको आँकलन सार्वजनिक गरेको हो

भूकम्पपछिको पुनर्निर्माण र व्यवस्थापनको काममा अन्तर्राष्ट्रिय सहायता जुटाउने आधारको रुपमा हेरिएको एउटा प्रतिवेदनले भूकम्पका कारण देशभर करीब ७ खर्व रुपियाँ बराबरको क्षति पुगेको निष्कर्ष निकालेको छ।

विपत्तीपछिको आवश्यकता आँकलन (पोष्ट डिजएस्टर नीड्स एसेसमेन्ट- पीडिएनए) तयार गर्न राष्ट्रिय योजना आयोगको नेतृत्वमा गठित समितिले उक्त प्रतिवेदन शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको थियो।

उक्त प्रतिवेदन प्रमुख दातृसंस्थाहरुको समेत संलग्नतामा तयार गरिएको बताइएको छ।

योजना आयोगका अधिकारीहरुका अनुसार करीब तीन साताको अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा भूकम्पको मारमा परेका हरेक जसो क्षेत्रमा पुगेको क्षतिको वास्तविक आँकलन गरिएको छ।

लेखाजोखा

विभिन्न २३ वटा क्षेत्र छुट्टयाएर नोक्सानीको लेखाजोखा गरिएको थियो।

प्रतिवेदनको निचोड सुनाउँदै आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले भने, "क्षति ५ खर्ब १३ अर्ब भन्दा बढी छ र गुमेको करीब १ खर्ब ८७ अर्ब जति छ र यसलाई पुरानै अवस्थामा लैजान ६ खर्ब ६६ अर्ब लाग्ने भनेर प्रारम्भिक अनुमान गरिएको छ।"

प्रतिवेदनले औंल्याएको क्षति नेपालको एक वर्षको बजेटभन्दा पनि बढी हो।

त्यसैले पुनर्निर्माणका कारण विगतको भन्दा बजेटको आकार बढ्ने छ।

तर सामान्य स्थितिमा पनि वैदेशिक ऋण र दातृ निकायको सहायतामा भर पर्ने गरेको नेपालका निम्ति थप ठूलो हुने बजेटको भार हलुङगो बनाउन अधिकारिहरूले अपेक्षा गरेको जति विदेशी सहायता जुट्ने विश्वास कति छ त?

लक्षण

योजना आयोगका उपाध्यक्ष पोखरेलले भने, "अहिले नै प्रतिबद्धताहरु नआए पनि पठाउने आश्वासनहरु राम्रो आएका छन्। वैदेशिक सहायता आउँछ भन्ने लक्षणहरु देखिएका छन्।"

जानकारहरु भन्छन्, सहायताको निम्ति हात थाप्दा सामान्यतया बढाइचढाइ गरिने सरकारी प्रवृत्तिका कारण दातृ निकायले अविश्वास वा आशंका गर्ने गर्छन्।

तर विपतपछिको आवश्यकता आँकलन अर्थात् पीडिएनए तयारीमा संलग्न दातृ निकायहरु आश्वस्त देखिएको अनुभव अधिकारीहरुको छ।

त्यसैले असारको दोश्रो साता काठमाडौंमा हुने दातृराष्ट्र र निकायहरुको सम्मेलनमा सहायता क्षेत्रको प्राथमिकता तोक्न र सहायता रकम जुटाउन प्रतिवेदनले भरपर्दो आधार तयार गर्ने उनीहरुको विश्वास छ, जुनकुरा शक्तिराष्ट्रहरुले पनि चासोका साथ हेरिरहेको सम्मेलनमार्फत व्यक्त हुने ठानिएको छ।