एक उच्च इस्लामवादी लडाकु मारिएः अमेरिका

  • 15 जुन 2015
Image caption अल कायदाका लागि काम गरेका बेलमोख्तारले पछि आफ्नै संगठन बनाएको बताइन्छ

अल्जेरियाको एउटा ग्याँस प्लान्टमा सन् २०१३ मा आक्रमणको आदेश दिएका एकजना वरिष्ठ इस्लामवादी लडाकु अमेरिकी हवाई हमलामा मारिएको लिबियाली अधिकारीहरुले बताएका छन्।

लिबियाली सरकारद्वारा जारी एउटा विज्ञप्तिमा मोख्तार बेलमोख्तार र अन्य लडाकुहरु मारिएको उल्लेख छ।

यद्यपि विगतमा उनको झूटो मृत्युबारे पटक-पटक खबरहरु आएका थिए।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणमा बेलमोख्तारलाई निशाना बनाइएको पुष्टि गरेपनि उनी मारिए वा नमारिएको विषयमा केही बताएको छैन्।

मूल्यांकन

पेन्टागनका प्रवक्ता स्टिभ वार्रेनले भने, “कारवाहीको नतीजाबारे हामीले मूल्यांकन कार्य जारी राखेका छौँ र उपयुक्त समयमा हामीले थप विवरणहरु सार्वजनिक गर्नेछौँ।”

अल्जेरियामा जन्मिएका बेलमोख्तार अल कायदाको इस्लामिक मगरिब क्षेत्रका एकजना पूर्व उच्च नेता हुन्।

तर पछि उनले उक्त संगठन त्यागेर आफ्नै समूह गठन गरेका थिए।

सन् २०१३ मा अल्जेरियाको एमिनास ग्याँस प्लान्टमा आक्रमण गराएर उनले बदनामी कमाएको बताइन्छ।

खतरा

उक्त आक्रमणमा करिब ८ सय मानिसहरुलाई बन्धक बनाइएको थियो भने ४० जना मारिएका थिए।

मारिएकामध्ये ६ जना ब्रिटिस र ३ जना अमेरिकीसहित अधिकांश विदेशी नागरिक थिए।

अमेरिकाले बेलमोख्तारमाथि आतंकवादसम्बन्धी आरोपहरु लगाएको थियो।

अमेरिकी अधिकारीहरुका अनुसार उनी पश्चिमा स्वार्थका निम्ति खतराका रुपमा रहेका थिए।