सात हप्तापछि खुल्यो ऐतिहासिक सम्पदा

  • 15 जुन 2015
Image caption करीब ५ सय सम्पदास्थलमा सामान्य क्षति पुगेको सरकारले जनाएको छ

विनाशकारी भकूम्प गएको झण्डै दुई महिना पुग्न लाग्दा सरकारले केही ऐतिहासिक तथा धार्मिक महत्वका विश्वचर्चित सम्पदास्थलहरु पर्यटकहरुका लागि खुला गरेको छ।

काठमाण्डू उपत्यकामा मात्रै भूकम्पका कारण दुई सयभन्दा बढी सम्पदास्थलमा क्षति पुगेको सरकारी आकंडा छ।

जसको पुननिर्माणमा करीब १२ अर्ब खर्च लाग्ने अनुमान सरकारले गरेको छ।

‌स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा रहेको भक्तपुर दरबार क्षेत्रमा सोमबार औपचारिक कार्यक्रम गरेर सरकारले कतिपय सम्पदास्थलहरु सुरक्षित रहेको भन्दै घुम्न आउन आह्वान गरेको हो।

सन्देश

युनेस्कोले उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदालाई सन् १९७८ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको हो।

साँस्कृतिक सम्पदा अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका सात स्मारक क्षेत्रहरुमध्ये तीनवटा ऐतिहासिक दरबार, दुईवटा बौद्ध स्तुप, र दुईवटा हिन्दू मन्दिर पर्छन्।

सोमबारबाट पर्यटकका लागि खुला गरिएको सम्पदाहरुबारे पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, “अब हामी सामान्य जनजीवनमा फर्किसकेका छौं। बाहिर मिडियाले भने जस्तो असुरक्षित छैन भन्ने सांकेतिक सन्देश दिने प्रयासस्वरुप हामीले पर्यटकका लागि खुला गरेका हौं।”

तर उनले वरपरको गाउँमा धेरै क्षति पुगेकाले भक्तपुरको चांगुनारायण मन्दिरमा भने अझै रोक लगाइएको जनाए।

भत्किएका संरचनाहरुको पुनर्निमाण गर्ने तयारीमा सरकार रहेको पर्यटनमन्त्री कृपासुर शेर्पाले बताए।

उनले भने, “भौतिक पूर्वाधारलाई पुरानै शैलीमा निर्माण गर्ने कुरामा न्यूनतम दुई देखि ५ वर्ष लाग्ने आंकलन छ। भित्री संरचना जस्तो भए पनि बाहिरी आवरण र स्वरुप पुरानै संस्कृति झल्कने गरि बनाउने तयारी छ।”

चासो

सम्पदा पुनर्निर्माणका लागि करीब १० देखि १२ अर्ब खर्च लाग्ने अनुमान गरिएको पर्यटनमन्त्रीले बताए।

पर्यटकीय आकर्षणका लागि भूकम्प जानु भन्दा पहिलेका तस्वीरहरु दरबारस्क्वायर क्षेत्रमा राखिएको छ।

यहाँ आएका केही आन्तरिक पर्यटकहरुले भूकम्प पछिको दृश्य हेर्न यहाँ आएको बताए।

केहीले भने भत्किएका पुरातात्विक महत्वका संरचनाहरु देखेर आफूलाई नरमाइलो लागेको बताए।

भूकम्प अघि वर्षभरि करीब ८ लाखको हाराहारीमा पर्यटकहरु नेपाल आउने गर्थे।

अब भूकम्प पछि नेपालको पर्यटन अवस्था कस्तो हुने हो भन्नेमा धेरैको चासो देखिन्छ।