राष्ट्रपति बसीर खार्तुम फिर्ता

  • 15 जुन 2015
तस्वीर कपीराइट AFP Getty Images
Image caption डार्फर द्वन्द्वका क्रममा युद्ध अपराध, मानवताविरोधी अपराध र नरसंहार गरेको अभियोग बसीरमाथि छ।

आम नरसंहारको अभियोग लागेका सुडानी राष्ट्रपति ओमार अल बसीरले कानुनी बन्देजहरुको बेवास्ता गर्दै दक्षिण अफ्रिका छाडेका छन्।

जोहन्सवर्गस्थित एक अदालतले उनलाई पक्राउ गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउनुपर्छ वा पर्दैन भनेर निर्णय सुनाउनु अघि नै उनले दक्षिण अफ्रिका छाडेका हुन्।

अफ्रिकी संघको सम्मेलनका क्रममा उनी दक्षिण अफ्रिका पुगेका थिए।

प्रिटोरिया उच्च अदालतले उनलाइ अन्तर्राष्ट्रिय फौजदारी अदालत समक्ष बुझाउने वा नबुझाउनेबारे निर्णय गर्न बांकी थियो।

बाध्य

आइतबार एकजना न्यायाधीशले बसीरको पक्राउ निवेदनमाथि टुंगो नलागेसम्म उनलाई दक्षिण अफ्रिका छाड्न प्रतिबन्ध लगाइदिएका थिए।

सन् २००३ मा शुरु भएको उक्त द्वन्द्वका कारण करीब तीन लाख मानिसहरु मारिएको तथा २० लाखभन्दा बढी मानिसहरु आफ्नो घर छाड्न वाध्य भएको राष्ट्रसंघले जनाएको छ।

सरकारी फौज तथा सहयोगी अरब मिलिसियाहरुले विद्रोहीसंगको लडाईंका क्रममा काला अफ्रिकी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाउने गरिन्छ।

प्रिटोरिया उच्च अदालतमा जारी सुनुवाइमा दक्षिण अफ्रिका सरकारको प्रतिनिधत्व गरिरहेका वकिलले बसीरको नाम विमानका यात्रुहरुको सूचीमा नरहेको जिकिर गरेका थिए।

प्रतिबन्ध

बसीर सोमबार नै खार्तुम फर्किएका छन्।

बीबीसीका एकजना संवाददाताका अनुसार बसीरलाइ छाडिदिएकोमा दक्षिण अफ्रिका सरकारले कुनै प्रतिबन्ध खेप्ने सम्भावना छैन।

कतिपय अफ्रिकी मुलुकहरुले विगतमा अन्तर्राष्ट्रिय फौज्दारी अदालतलाई सहयोग नगर्ने निर्णय गरेका थिए।

अफ्रिकी नेताहरुविरुद्ध उक्त अदालतले रंगभेदी नीति अपनाएको आरोप लाग्ने गरेको छ।

राष्ट्रसंघीय महासचिव बान कि मुनले उक्त अदालतलका पक्षधर मुलुकहरुले सो अदालतको पक्राउ आदेश कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

दक्षिण अफ्रिका पनि सो अदालतको पक्षधर राष्ट्र हो।