ढिलो वर्षाले कृषि उत्पादन घट्ने चिन्ता

  • 16 जुन 2015
तस्वीर कपीराइट bbc
Image caption पर्याप्त मनसुनी वर्षा सुरु नहुँदा देशका अधिकांश भागमा रोपाईँ सुरु हुनसकेको छैन।

मानो रोपेर मुरी फलाउने बेलामा आकाशबाट भनेजस्तो पानी नपरेका कारण धेरै किसानहरुले धानको बिउ राख्न पाएका छैनन्।

सिँचाई सुविधा पुगेका स्थानका किसानहरुले धानको बिउ राख्न सुरु गरे पनि अन्य स्थानका किसानहरु आकासे झरीको पर्खाईमा रहेका कृषि विकास कार्यालयका कर्मचारी बताउँछन्।

जसका कारण वर्षेनी घट्दै गएको धान उत्पादनमा यस वर्ष समेत ह्रास आउला कि भन्ने चिन्ता थपिएको छ।

असार लागिसक्दा समेत मनसुन सक्रिय नहुँदा धेरै किसानहरुले धानको बिउ राख्न समेत नपाएकोको कृषि विकास कार्यालयका कर्मचारी बताउँछन्।

असर

कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालिग्राम भट्टराईका अनुसार झापामा करीब ५० प्रतिशत किसानले मात्र अहिलेसम्म धानको ब्याड राखेका छन्।

उनले भने, “अरु ५० प्रतिशत जग्गा आकाशे पानीको भरपर्नुपर्ने भएको हुनाले किसानहरुले बिउ राख्न सकेका छैनन्। अब मनसुन सुरु भए पनि बिउ राखेर पनि भ्याइन्छ।”

सिँचाई सुविधा नपुगेका खेतमा धान रोप्न आकाशे पानी कै भरपर्नु पर्ने भएकाले देशभरको स्थिति झापाको भन्दा फरक नरहेको कृषि विकास मन्त्रालयको भनाई छ।

मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने, “ढिला त भयो तर अब अहिले पनि मनसुनले साथ दियो भने खासै त्यसले नकारात्मक असर त पर्दैन। हामीले आकाशे पानी राम्रोसँग परेपछि मात्रै उत्पादन राम्रो हुने हो।”

७३ जिल्ला करीब १४ लाख हेक्टर जमिनमा धान खेति हुने गरेको कृषि विकास मन्त्रालयको तथ्यांकमा छ। गत साल सोही जमिनमा करीब ४८ लाख मेट्रिक टन धान फलेको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले जानकारी दिए।

चिन्ता

जुन अघिल्लो वर्षको उत्पादन ५० लाख मेट्रिक टन भन्दा ५ प्रतिशतले कमी भएको उनको भनाई छ।

समय मनसुनी बर्षा नभएका कारण यस बर्ष पनि धान उत्पादनमा कमी आउने हो कि भन्ने चिन्ता थपिदिएको छ।

मानिसहरुको आहारा प्राय धान नै भएकाले नेपालमा उत्पादित धानले थेग्न नसक्ने ठाकुरको भनाई छ।

उनका अनुसार बार्षिक करीब १४ प्रतिशत धानको आपूर्ति अन्य देशबाट गर्नुपर्छ।

उनले भने, “हामीले धेरै खानेकुरा चामल भएकोले यो वर्ष अझ कम हुने देखिएको छ। ६ लाख ७७ हजार मेट्रिक टन कम हुने सम्भावना देखिएको छ।”

तर खाने परम्परालाई बदल्न सक्ने हो भने नेपालमा उत्पादित सबै अन्नको हिसाब गर्दा सबै नेपालीलाई पुगेर १ लाख ५५ हजार मेट्रिक टन खाद्य सामाग्री सञ्चित समेत हुने कृषि विकास मन्त्रालयको भनाई छ।