अणु अस्त्र भण्डारण बलियो बनाइने: पुटिन

  • 16 जुन 2015
तस्वीर कपीराइट Getty
Image caption हालैका वर्षहरुमा पुराना हतियारहरुलाई हटाइए पछि रुसको अस्त्र भण्डारणमा ह्रास आएको थियो

रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले यसवर्ष आफ्नो देशको अणु अस्त्र भण्डारमा ४० भन्दा बढी नयाँ अन्तरमहाद्वीपीय क्षेप्यास्त्रहरु थप्ने बताएका छन्।

राजधानी मस्कोमा भएको एउटा सैनिक भेलामा बोल्दै उनले थप्न लागिएको त्यस्ता अस्त्रलाई अत्यन्तै आधुनिक प्रविधियुक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले पनि रोक्न नसक्ने बताए।

ती क्षेप्यास्त्रहरु कहाँ प्रयोग गरिनेछन् भन्ने कुनै संकेत दिइएको छैन।

पूर्वी युरोपका नेटो राष्ट्रहरुमा संयुक्त राज्य अमेरिकाले सैन्य उपस्थिति बाक्लो बनाएसँगै रुसको यस्तो निर्णय आएको छ।

आरोप

रुसका सहायक रक्षा मन्त्री एनाटली एनटोनोभले नेटोले हतियारको नयाँ दौडका लागि मस्कोलाई उत्तेजित बनाउन खोजेजस्तो देखिएको बताए।

पूर्वी युक्रेनमा भड्किएको द्वन्द्वमा रुसको भूमिकालाई लिएर तनावहरु उत्पन्न भएका छन्।

नेटो र पश्चिमा नेताहरुले रुसले आफ्ना सैनिक तथा बख्तरबन्द गाडी र क्षेप्यास्त्र लगायतका हतियार पठाएर पूर्वी युक्रेनका रुस समर्थित पृथकतावादीहरुलाई सघाएको आरोप लगाउने गरेका छन्।

तर रुसले त्यहां लडिरहेका रुसीहरु स्वयंसेवक मात्रै भएको भन्दै उक्त आरोप पटकपटक अस्वीकार गर्दै आएको छ।

रुसका अधिकारीहरुले पूर्वी युरोपमा ठूला सैन्य उपकरणहरु राख्ने योजना अमेरिकाले अघि बढाए मस्को चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

टिप्पणी

रुसका सहायक रक्षा मन्त्री एनाटोली एनटोनोभलाई उद्धृत गर्दै एउटा समाचार संस्थाले नेटो राष्ट्रहरुले रुसलाई हतियारको दौडमा जान बाध्य बनाएको उल्लेख गरेको छ।

पश्चिमा देशहरुसँग तनाब बढीरहेका बेला रुसी राष्ट्रपति पुटिनले देशको अणु भण्डारणमा विशेष जोड दिएको बीबीसीका रक्षा र कुटनीतिक संवाददाता जोनाथन मारकसले टिप्पणी गरेका छन्।

रुसको यो कदम उसको परम्परागत सैन्य कमजोरीको प्रतिबिम्ब भएको उनले बताए।

मस्को अहिले रणनीतिक अणु हतियारहरुको महत्वपूर्ण आधुनिकीकरणको चरणमा छ। जसअन्तर्गत नयां ब्यालेस्टिक मिसाइलहरु, आधुनिक बम वर्षकहरु तथा नयाँ पनडुब्बीहरु थपिएका छन्।

पुराना सैन्य शक्तिमा भन्दा अणु शक्तिमा रुसले पछिल्लोपटक दिएको जोडले पश्चिमा मुलुकहरुलाई चिन्तित बनाएको देखिन्छ।