हङकङमा सुधारको नयाँ प्रस्तावमाथि बहस

  • 17 जुन 2015
हङकङका प्रदर्शनकारीहरु तस्वीर कपीराइट AP
Image caption गत वर्ष हङकङमा प्रस्तावित सुधारको विपक्षमा पूर्ण प्रजातन्त्र पक्षधरहरुले प्रदर्शनहरु गरेका थिए

निकै महत्वपूर्ण भनिएको हङकङमा राजनैतिक सुधारको प्याकेज समेटिएको सो प्रस्ताव बुधबार हङकङको संसदमा पेस गर्ने कार्यक्रम थियो।

तर त्यस्तो तयारी भइरहँदा शहरको व्यवस्थापिका संसद भवन बाहिर प्रदर्शनकारीहरु जम्मा भइसकेका विवरणहरु प्राप्त भएका छन्।

नयाँ प्रस्तावमा हङकङका नागरिकलाई इतिहासमै पहिलो पटक प्रत्यक्ष रुपमा आफ्नो प्रमुख कार्यकारी छान्ने अवसर प्रदान गर्ने भनिएको छ।

तर प्रमुख कार्यकारीका उम्मेदबारहरुलाई बेइजिङ समर्थित एक समितिद्वारा अनुमोदित हुनु पर्नेछ।

गत वर्षको सेप्टेम्बरमा हङकङमा प्रस्तावित सुधारको विपक्षमा पूर्ण प्रजातन्त्र पक्षधरहरुले कयौ दिन सम्म प्रदर्शनहरु गरेका थिए।

प्रदर्शनको तयारी

अहिले संसदमा छलफलको तयारी भइरहँदा सयौंको संख्यामा प्रजातन्त्र पक्षधर र बेइजिङ पक्षधरका ठूला जमातहरु नाराबाजी गर्दै ब्यानरहरु बोकेर हङकङको व्यवस्थापिका संसद भवन बाहिर भेला भएका छन्।

त्यहाँ उपस्थित फिवन वङले एएफपी समाचार संस्थालाई भनिन्, "म यहाँ तथाकथित प्रजातन्त्रको विरोध गर्न आएको हुँ। यो विधेयक पारित गरियो भने हामी जस्ता सयौं प्रदर्शनकारीको मर्ममाथि प्रहार हुनेछ।"

तर बेइजिङ पक्षधर चान थरका अर्का प्रदर्शनकारीले रोएटर्स समाचार संस्थालाई भने," यो विधेयक पारित हुन जरुरी छ। हामी हङकङमा स्थिरता चाहान्छौ।"

साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार संसद भवन वरपर सुरक्षा व्यवस्था कडा तुल्याइएको छ; जस अनुसार भित्र पट्टी २०० र बाहिर पट्टी १,००० प्रहरी तैनाथ छन्।