दाता सम्मेलनमा नर्वेली मन्त्री आउने

  • 18 जुन 2015
Image caption सम्मेलनको पूर्वसन्ध्यामा निम्तालुहरुलाई भूकम्प प्रभावित जिल्लाको भ्रमणमा लगिनेछ

आगामी साता हुने दाताहरुको सम्मेलनमा भाग लिन हालसम्म नर्वेका विदेश मन्त्री तथा विश्व बैंक, एसियाली विकास बैंक र जापानी सहयोग नियोगका उच्च अधिकारीहरुले आउने निधो दिइसकेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

विभिन्न देश तथा दातृ निकाय गरी ६० भन्दा धेरैलाई सम्मेलनमा सहभागी हुन निम्तो पठाइएको छ।

सम्मेलनमा भूकम्प पश्चात नेपालको पुनर्निर्माणमा सहयोग पु-याउन आव्हान गरिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन्।

आउँदो बिहीबार काठमाण्डौंमा हुन लागेको सो सम्मेलनमा छिमेकी भारत र चीनबाट उच्च राजनीतिक तहबाटै सहभागिताको आशा नेपालले राखेको भएपनि हालसम्म ती देशबाट कसको नेतृत्वमा प्रतिनिधित्व हुनेछ भन्ने प्रष्ट भइसकेको छैन।

निम्ता

नेपालले सम्मेलनमा भाग लिन ४१ विभिन्न मुलुक र २२ वटा बहुपक्षीय दातृ संस्थाहरुका अतिरिक्त अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टर, ब्रिटेनकी अभिनेत्री जोआना लुम्ले र हलिउड अभिनेता लियोनार्दो दि क्याप्रियोलाई समेत निम्ता गरेको छ।

ती मध्ये हालसम्म निम्ता स्वीकारीसकेका को को छन् त?

अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले भने, "नर्वेबाट विदेश मन्त्री आउनेछन्। जापानबाट राज्य मन्त्री आउनेछन् र भुटानबाट अर्थ मन्त्री आउनेछन्। विश्व बैंकका उपाध्यक्ष, एडीबीका अध्यक्ष र जापान सहयोग नियोग जाइकाका अध्यक्ष आउने पक्का भइसकेको छ। अन्यको जानकारी विस्तारै केही दिनमा आउनेछ।"

असार मसान्तमा बजेट प्रस्तुत गर्नु पर्ने भएकाले पुनर्निर्माणमा विदेशीहरुले के कति सहयोगका वाचा गर्छन् त्यसै अनुसार रकम विनियोजन गर्ने भन्दै सरकारले अर्को साता सम्मेलन गर्न लागेको हो।

सम्मेलनको संघारमा राष्ट्रिय योजना आयोगको नेतृत्वमा 'पोष्ट डिजास्टर नीड्स असेस्मेन्ट' (पीडिएनए) भनिने विपदपछिको आवश्यकता पहिचानको दस्तावेज तयार गरिएको छ।

जसले भूकम्पको क्षतिलाई परिपूर्ति गर्न करीब सात खर्ब रुपियाँ बराबरको आवश्यकता पहिचान गरेको छ।

सम्बोधन

अर्थ मन्त्री डाक्टर रामशरण महतले खासगरी विदेशी दातृ राष्ट्र र निकायहरुसंग सकेसम्म अनुदान नभए सहुलियतपूर्ण ऋणको आशा राखिएको बताए।

प्रधानमन्त्रीले सम्बोधन गर्ने उक्त सम्मेलनमा भारत, चीन, जापान, राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक तथा युरोपेली संघका प्रतिनिधिहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसबाहेक केही निकायले भूकम्पपछिको पुनर्निर्माणका महत्वपूर्ण पाटाहरुबारे प्रस्तुति दिनेछन्।

प्रवक्ता पुडासैनीले भने, "ग्रामीण वस्तीबारे विश्व बैंकले प्रस्तुति दिनेछ। सार्वजनिक सेवा प्रवाहबारे एडिबीले अनि शहरी पुनर्निर्माणबारे जाइकाले प्रस्तुति दिनेछन्।"

सो सम्मेलनका क्रममा सहभागी प्रतिनिधिहरुले आ-आफ्ना देश र निकायका तर्फबाट के-कति सहयोग गर्ने भन्ने बारे प्रतिबद्धता जाहेर गर्ने अपेक्षा गरिएको छ।