ग्रीसलाई थप म्याद नदिइने: लगार्ड

  • 18 जुन 2015
तस्वीर कपीराइट Getty
Image caption बिहीबार बस्ने युरोजोनका अर्थमन्त्रीहरुको बैठकमा पनि कुनै समाधान ननिसक्ने धेरैको अनुमान छ

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डले भनेकी छिन्, ग्रीसलाई उसको ऋणकाबारे विशेष व्यवहार गरिने छैन।

युरो मुद्रा प्रचलनमा रहेका मुलुकहरुका मन्त्रीहरुलाई भेटनु केही अघि उनले त्यस्तो बताएकी हुन्।

उनले ग्रीसले पेन्सन सुधार लगायत आर्थिक सुधारको भरपर्दो योजना अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने पनि बताइन्।

संझौता

यसअघि जर्मन चान्सलर एङ्गेला मर्केलले ग्रीससंग उसको ऋणका बारे अझै एउटा संझौता गर्न सकिने बारे आफु विश्वस्त रहेको बताएकी थिइन्।

उनले भनिन्, "जर्मनीका प्रयासहरु ग्रीस युरोजोन मै रहिरहोस् भन्नेतर्फ केन्द्रित छन्। हामी आयरल्याण्ड, स्पेन, पोर्चुगल र साइप्रस जस्तै ग्रीसका जनताको भविष्य राम्रो होस् भन्ने चाहन्छौं।" चान्सलर एङ्गेलले गत फेब्रुअरी महिनामा ग्रीस सरकारले गर्छु भनेको संरचनात्मक सुधार कार्यान्वयन गर्न पनि आह्वान गरिन्।

ग्रीसले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई एक अर्ब साठी करोड युरो तिर्न अब दुई साता भन्दा पनि कम समय बाँकी छ।

बीबीसीसंग कुरा गर्दै ग्रीसका प्रमुख वार्ताकार तथा सहायक विदेश मन्त्री युक्लिड साकालोटसले भने, कुनै पनि संझौता आर्थिक रुपले धान्न सक्ने खालको हुनुपर्छ।

ग्रीसका अर्थ मन्त्री यानिस भारुफाकीले भनेका छन्, आफुले लिएको ऋण तिर्नु ग्रीसको राजनीतिक तथा नैतिक दायित्व हो।

तर उनले भने, बिहीबार हुन गैरेहेको युरोजोन भनिने मुलुकका मन्त्रीहरुको बैठकले तत्काल कुनै समाधान दिने संभावना छैन।

युरोपेली आयोग, युरोपेली केन्द्रिय बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले ग्रीसलाई थप ऋण दिन आफुहरु तयार रहेको जनाएका छन्।

तर उनीहरुले ग्रीसले आर्थिक सुधारका साथै मितव्ययिताका थप कदमहरु चाल्नुपर्ने कुरामा जोड दिंदै आएका छन्।

चेतावनी

बुधबार ग्रीसको केन्द्रीय बैंकले जुन महिनाको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय ऋणदाताहरुसंग सहमति हुन नसके ग्रीसले अन्तत: युरोपेली एकल मुद्रा प्रणाली छाड्नुपर्ने हुनसक्ने चेतावनी दिएको थियो।

उक्त सहमति नभए ग्रीसमा गहिरो आर्थिक मन्दी आउने, आम्दानीमा नाटकीय गिरावट आउने तथा बेरोजगारी ह्वात्तै बढ्ने पनि बैङ्कले बताएको थियो।

सम्झौता नहुँदा थप करीब सवा ७ अर्ब युरो निकासा दिने काम रोकिएको बताइएको छ।

आफ्नो प्रतिवेदनमा ग्रीक केन्द्रीय बैंकले भनेको छ, सम्झौता हुन नसके त्यसले एउटा पीडादायी यात्रा शुरु गर्नेछ जसको शुरुवातमा ग्रीस टाट पल्टिनेछ र अन्तत: युरो क्षेत्र र सम्भवत: युरोपेली संघबाट ग्रीस बाहिरिनेछ।

जुन महिनाको अन्त्यसम्म कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल गर्न युरोजोनका अर्थमन्त्रीहरुबीच बिहीबार छलफल हुंदैछ।

ग्रीसले युरोजोनको ऋण तिर्ने भाखा जुन ३० मा सकिंदैछ।