चर्चमा आक्रमण गर्ने संदिग्ध पक्राउः प्रहरी

  • 19 जुन 2015
तस्वीर कपीराइट Reuters
Image caption प्रहरीले घृणाका कारण अपराध भएको विषयमा अनुसन्धान थालिएको जनाएको छ

अमेरिकाको साउथ क्यारोलाइनाको चार्ल्सटनस्थित एउटा ऐतिहासिक अफ्रिकी-अमेरिकी चर्चमा ९ जनाको हत्या गर्ने एकजना २१ वर्षीय संदिग्ध व्यक्ति पक्राउ परेका छन्।

नर्थ क्यारोलाइनाको शेल्बीमा सडकमा रातो बत्ती बल्दा सवारी रोकिने बेला लेक्सिङ्टनका डाइलन रुफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गोली प्रहार गर्नु ४ घण्टा पहिलेदेखि उनी चर्चभित्र ईसाईहरुको धर्मगन्थ्र बाइबल पढ्ने बैठकमा बसिरहेको बताइएको छ।

आक्रमणमा ६ जना महिला र चर्चका पादरीसहित ३ जना पुरुष मारिएका थिए।

अनुसन्धान

घृणाका कारण भएको अपराधबारे अनुसन्धान शुरु गरिएको अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति बराक ओबामाले आफू र आफ्नी पत्नीले इम्यानुएल एएमई चर्चका पादरी लगायत धेरै सदस्यहरुलाई पहिल्यैदेखि चिनेको बताएका छन्।

चार्स्लटनको इतिहासमा चर्च एउटा “पवित्र स्थान” रहिआएको भन्दै उनले मानिसहरु फेरि पनि प्रार्थनाका लागि भेला हुने र समाज “पुनः उठ्ने” कुरामा आफू विश्वस्त रहेको बताए।

“नरसंहार”

बन्दुक राख्न पाउने अधिकारीबारे बोल्दै ओबामाले भने, “कुनै बिन्दुमा हामीले एउटा मुलुकको रुपमा के स्वीकार्नु पर्दछ भने यस्तो किसिमको नरसंहार अरु विकसित मुलुकहरुमा हुने गरेको छैन्।”

प्रहरी तथा अधिकारीहरुले उक्त घटना घृणाका कारण हुने अपराध भएको बताएका छन्।

कानुन मन्त्रालयले घृणाका कारण हुने अपराधका विषयमा संघीय अनुसन्धान शुरु गरिने जनाएको छ।

संदिग्ध व्यक्ति पक्राउ परेपछि बोल्दै महान्यायाधिक्ता लोरेट्टा लिन्चले अनुसन्धानलाई उत्तम तरिकाबाट अघि बढाउन सुनिश्चित गर्नका निम्ति अभियोजनकर्ताले “हरेक तथ्य र सबै उद्देश्य”लाई हेर्ने बताइन्।