'ग्रीक बैंकहरुलाई थप ऋणको तयारी'

  • 19 जुन 2015
Image caption साढे १ अर्ब युरो भन्दा बढी ऋण तिर्नका लागि ग्रीससँग दुई हप्ताभन्दा कम समय छ।

युरोपेली केन्द्रीय बैक इसिबीले ग्रीसका बैकहरुलाई थप आपतकालीन ऋण दिनेबारे विचार गरिरहेको छ।

ग्रीसका बैंकहरुबाट बचतकर्ताहरुले पछिल्ला तीन दिनमा मात्रै दुई अर्ब युरो झिकेपछि इसिबीको त्यस्तो तयारी प्रकाशमा आएको हो।

ग्रीसको कर्जा संकटबारे वार्ता विफल भए आफूहरुको खाता युरो मुद्राबाट ग्रीक रकममा रुपान्तरण हुन सक्ने भयका कारण मानिसहरुले पैसा झिकिरहेको बताइएको छ।

युरोपेली केन्द्रीय बैंकले यो साताको पूर्वाद्धमा ग्रीक बैंकहरुलाई दिइने आपतकालीन ऋणको सीमा ८४ अर्ब युरो पु-याउन सहमति जनाएको थियो।

सम्मेलन

उसले अब त्यो सीमा पनि बढाउन सक्नेछ।

इसिबीले ग्रीक बैंकहरुलाई दिइने आपतकालीन ऋणबारे छलफल गर्न टेलिफोनमार्फत नै सम्मेलन गर्ने बुझिएको छ।

साढे १ अर्ब युरो भन्दा बढी ऋण तिर्नका लागि ग्रीससंग दुई हप्ताभन्दा कम समय छ।

ऋण तिर्न नसके ग्रीस, युरो मुद्रा प्रचलनमा रहेका मुलुकहरुको समूह युरोजोन र सम्भवत: युरोपेली संघबाटै बाहिरिने खतरा छ।

तर युरोपेली आयोग, अन्तर्राष्ट्रिय मुद्रा कोष र इसिबी आर्थिक सुधारका लागि ग्रीस सहमत नभएसम्म उसलाई ऋण संकटबाट बाहिर निकाल्नका लागि थप रकम दिन अनिच्छुक देखिन्छन्।

सुधार

उनीहरु ग्रीसले निवृत्तिभरण, मूल्य अभिवृद्धि कर र बजेट बचतसम्बन्धमा सुधारहरु नगरे करीब सवा ७ अर्ब युरो उपलब्ध गराउन तयार देखिदैनन्।

उक्त रकम फेब्रुअरीमै दिने भनिएपनि त्यसयता अड्किएर बसेको छ।

तर ग्रीक प्रधानमन्त्री एलेक्सिस सिप्रास संकट अन्त्य हुने प्रति आफूहरु अझै आशावादी रहेको बताए।

ग्रीसलाई ऋण तिर्न नसक्ने घोषित गर्ने अवस्थाबाट जोगाउन र युरोजोनबाट बाहिरिन नदिनका लागि सम्झौता हुने सम्भावना अझै जीवितै रहेको उनले जनाए।