योग कार्यक्रममा हजारौंका साथ मोदी सहभागी

  • 21 जुन 2015
तस्वीर कपीराइट EPA
Image caption योगले मानसिक तथा शारिरीक स्वास्थमा सकारात्मक प्रभाव पर्ने बताइन्छ

प्रथम अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आईतबार भारतको राजधानी दिल्लीमा हजारौं मानिसहरु सहभागी भएको योग कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सामेल भए।

करीब ३५ हजार स्कूले विद्यार्थी, सरकारी कर्मचारी तथा सैनिकहरुका साथ मोदीले योगका विभिन्न आसनहरु गरेका थिए।

भारतका सयौं शहर तथा विश्वभर विभिन्न देशहरुमा पनि योग दिवसको अवसरमा कार्यक्रमहरु भए।

घोषणा

दिल्लीमा सबेरै आयोजित कार्यक्रमलाई योगमा अभ्यस्त प्रधानमन्त्री मोदीले सम्बोधन गरेका थिए।

उनकै पहलमा संयुक्त राष्ट्रसंघले जुन २१ तारीखलाई विश्व योग दिवस घोषणा गरेको थियो।

सोही अवसरमा दिल्लीमा करीब ३५ हजार सहभागी भेला भए।

विभिन्न रंगका म्याट ओछ्याइएको राजपथमा उनीहरुले करीब ३५ मिनेट योग अभ्यास गरे।

आईतबार बिहानको कार्यक्रममा दिल्लीमा हजारौं प्रहरी तथा अर्धसैनिक बल तैनाथ थिए। सुरक्षा व्यवस्था कडा थियो।

किर्तिमान?

तस्वीर कपीराइट EPA
Image caption योगको विभिन्न आसनले विभिन्न फाइदा दिने ठानिन्छ

यसअघि अधिकारीहरुले प्रधानमन्त्री मोदी कार्यक्रममा सहभागी भइ सम्बोधन गर्ने तर योग आसनहरु नगर्ने बताएका थिए। तर उनले सबैलाई अचम्भित पार्दै हजारौं सहभागीहरुका साथ योग आसन गर्न थाले।

भारतीय अधिकारीहरुका अनुसार ३५ हजार मानिसहरु एकै ठाउँमा भेला भएर ३५ मिनेट सम्म योग गरेर विश्व रेकर्ड कायम हुने छ। किर्तिमानको जाँच गर्न गिनीज बुक अफ वर्ल्ड रेकर्डसका अधिकारीहरुपनि उपस्थित थिए।

दिल्लीको कार्यक्रमका लागि मात्र पचास करोड रुपियाँ खर्च गरिएको थियो। भारतका ६७६ जिल्लामध्ये ६५० मा विभिन्न कार्यक्रम गरिंदैछ। संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये द्वन्द्वग्रस्त यमन बाहेक १९२ अन्य देशमा पनि योग दिवस मनाइंदैछ।

राष्ट्रसंघका महासचिव बान कि मुन सहित योग दिवस मनाउन भारतीय विदेश मन्त्री सुष्मा स्वराज अमेरिकाको न्यूयोर्क पुगेकी छन्। त्यहाँ टाइम्स स्क्वाएरमा ३० हजार मानिसहरु योग अभ्यासमा सामेल हुने अपेक्षा छ।

विरोध

तर शान्ति र सदभाव प्रेरित गर्नाका लागि गरिएको भनिएको योग कार्यक्रमलाई इस्लामको विरुद्धमा रहेको र विशुद्ध एक हिन्दू धार्मिक क्रिया को संज्ञा दिंदै केही मुस्लिम संगठनहरुले विरोध गरेका छन्।

अन्य कतिपयले नरेन्द्र मोदीको सरकार आफ्नो हिंदूत्वको एजेन्डा अन्यमाथि थोपर्न चाहन्छ भनेका छन्।

जबकी भारतीय सरकारले चाहीं यी आरोपहरुको खण्डन गर्दै कार्यक्रममा भाग लिन अनिवार्य नरहेको जनाएको छ।