अफगान संसदमा हमला

  • 22 जुन 2015
तस्वीर कपीराइट bbc
Image caption संसदको बैठकको टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेका बेला उक्त हमला भएको थियो।

काबुलका प्रहरीहरुले ७ जना तालेबानी बन्दुकधारीको ज्यान लिएपछि अफगान संसद भवन परिसरमा भएको भिडन्त टुंगिएको छ।

उक्त हमलामा थप दुई गैरसनिकले ज्यान गुमाए भने करीब ४० जना घाइते भएका बताइएको छ।

संसदको गेट बाहिर एउटा शक्तिशाली कार विस्फोटन गराएपछि संसद परिसरमा प्रवेश गरेका आक्रमणकारीहरु त्यसपछि सदनसँग जोडिएकै एउटा निर्माणाधीन भवनमा छिरेका थिए।

उनीहरुसँगको लडाईँका क्रममा प्रहरीले उक्त परिसर खाली गराएको थियो।

आक्रमण

नयाँ रक्षामन्त्री चयनका लागि मतदान हुन लागेका बेला तालेबान लडाकुहरुले आक्रमण गरेका हुन्।

सामाजिक सञ्जालमा राखिएका तस्वीरमा संसदको बैठक कक्ष धुवाँको मुस्लोबाट ढाकिएको र भागदौड मच्चिएको दृश्य देखाइएको छ।

एक जना अफगानी सांसदले भनिन्, “कार्यवाहक रक्षा मन्त्री संसदमा प्रवेश गर्लान् भनेर हामी कुरिरहेका थियौँ, त्यतिनै बेला एउटा ठूलो विस्फोटन भयो, संसदको हल धुवाँ र धुलोले भरियो र भवनको सिलिङमा रहेका बत्ती लगायतका सजावटका सामाग्री खसे।”

बन्दुकधारीहरु मुख्य बैठक कक्षमा प्रवेश गर्न भने विफल भएका थिए।

कब्जा

काबुलबाट बीबीसीका संवाददाता डेविड लोयन भन्छन्, "आफगानिस्तानका लागि निकै नाटकीय लाग्ने उक्त घटनाक्रमपछि प्रहरीले एउटा जटिल सुरक्षा कारवाही अघि बढाएका थिए।"

उनी भन्छन्, "संसदले नयाँ रक्षामन्त्री चयन गर्ने बेला हमला गरेर तालेबानहरुले उनीहरुले चाहेजस्तै व्यापक प्रचार पाए।

राजधानी काबुलमा रहेका सरकारी भवनहरुमा तालेबानहरुले श्रृंखलाबद्ध आक्रमण गर्दै आएका छन्।

हालै दक्षिण पश्चिममा रहेको हेलमण्ड प्रान्तमा महत्वपूर्ण उपलब्धि हात पारेका उनीहरुले केही दिन अघि कुन्दुज प्रान्तका दुई शहरमा कब्जा जमाएका थिए।