शिविरमा सुत्केरी सकस

  • 23 जुन 2015
Image caption सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकबाट यहाँ झन्डै ५० वटा परिवार मनोहरा खोला नजिकैको अस्थायी शिविरमा बसिरहेका छन्

वैशाख १२ गतेको भूकम्प आउँदा सिन्धुपाल्चोक तातोपानीकी २२ वर्षीया चमेली विक ९ महिनाकी गर्भवती थिइन्।

वैशाख २९ गते गएको दोस्रो भूकम्पले उनको परिवारलाई घरबारविहीन बनायो।

छरछिमेक धेरैको ज्यान गुम्यो, गोठका गाईबस्तु सखाप भए। धन्न प्राण धानियो।

भूकम्पबाट सबैभन्दा प्रभावित जिल्लामा परकम्प पनि उत्तिकै गइरहन्थ्यो।

अप्ठ्यारो

बस्ने बाससमेत बाँकि नभएपछि परिवारका सदस्यसहित उनी काठमाडौं आउँदै थिइन्।

आउँदा आउँदै बाटोमै सुत्केरी व्यथा लाग्यो। उनले गाडी भित्रै छोरीलाई जन्म दिइन्।

गाडीभित्रको साँघुरो ठाउँमा बच्चा जन्मिँदा नवजात शिशुको जन्मन नपाई देब्रे कन्चटमा चोट लाग्यो। अझै निको भएको छैन।

गाडीमै सुत्केरी भएकी उनलाई सोझै मनोहरा खोला नजिकैको अस्थायी शिविरमा ल्याएर राखियो।

उनको परिवारको दैनिकी अहिले यही ठाउँ जसोतसो बित्दैछ।

सुत्केरी व्यथा लाग्ने दिन नजिकिँदै गर्दा उनको पेटमा केही अडिन्नथ्यो।

घरकै अन्न पानीले त बेला बेला वाकवाकी लागिरहन्थ्यो।

राहत

त्यही भएर होला छोरी पनि त्यति स्वस्थ देखिन्न।

Image caption भूकम्पका कारण अस्थायी शिविरमा बस्दा ध्यान नदिए हैजालगायतका रोगहरु फैलिने डर हुन्छ

अस्थायी शिविरमा राहतमा आएका सामग्री खाँदा उनको जिउलाई त्यति सन्चो भएको छैन।

उनी सुत्केरी भएको अहिले १५ दिन भयो। छोरीको टाउकोमा लागेको घाउ निको हुने त कता हो कता पालको बास र जेठको चर्को घामले जिउभरी विमिरा आएका छन्।

अनुहारभरी लामखुट्टेले टोकेको डाबर छ।

पालको एउटा कुनामा खाना पकाउने ठाउँ छ जहाँ उनी राहतमा आएका सामग्री पकाउँछिन्।

साबिककी सुत्केरी थिइन् भने अहिले उनीहरुको चलन अनुसार दिनको तीनपटक भात खाएर बच्चाको मात्रै ख्याल गर्नुपर्थ्यो।

तर भूकम्पले सारा देश दुखाएको छ। झन् सुत्केरीको अवस्था त दयनीय देखिन्छ।

मध्य गर्मीमा उनको अस्थायी शिविरमा पुग्दा छोरीको लगातारको रुवाई रोकिएको थिएन।

अनुमान

उनले थुप्रै प्रयास गर्दा पनि छोरीलाई फकाउन सकेकी छैनन्। धेरैबेर थुमुथुमाएर छातीमा टाँसेपछि १५ दिने छोरी रुन त छोडि तर हिक्क हिक्क रोकिएको छैन।

उनले छोरीलाई छातीमा टाँसेर भनिन्, ‘डाक्टरले त भनेको छ खानपान र सरसफाइमा आफ्नो पनि बच्चाको पनि ध्यान दिनुभनेर तर भनेजस्तो नहुने यसरी पालमा बस्दा।’

अब अहिले जे पायो त्यही खान हुँदैन। दुइ हप्ताको सानो बच्चालाई उनले दुध धरी राम्ररी खुवाउन पाएकी छैनन्।

‘खानपान मिले पो दुध पनि राम्ररी आउँथ्यो होला, छोरीको आहारा पनि राम्ररी पुर्याउन सकेको छैन मैले,’ छोरीको निधारमा चिटचिट देखिएको पसिना पुस्दै उनले भनिन्।

भूकम्पपछि अस्थायी शिविरमा बसिरहँदा सिन्धुपाल्चोककी चमेलीको मात्रै होइन, प्रभावित जिल्लाहरुको खुल्ला चौरमा अस्थायी शिविरमा बसिरहेका हजारौं सुत्केरी महिलाहरुको अवस्था उस्तै छ।

Image caption जस्ताको अस्थायी शिविरमा बसिरहेका सुत्केरी महिलालाई गर्मी बढेसँगै शिशुको स्वास्थ्यबारे चिन्ता बढेको देखिन्छ

गैरसरकारी संस्थाहरुले भूकम्प प्रभावित जिल्लाहरुमा १ लाख २५ हजार भन्दा बढी महिलाहरु गर्भवती रहेको अनुमान गरेको छ।

एयरपोर्ट नजिकैको खुला चौरमा सानो त्रिपालमा बसिरहेकी सविना देउलाको अवस्था पनि उस्तै छ। भर्खर १९ वर्षकी उनी ठूलो भूकम्प गएको दिन जम्मा १५ दिनकी सुत्केरी थिइन्।

एयरपोर्ट नजिकै पाँचजनाको परिवारसहित उनी डेरामा बस्दै आएकी थिइन्। आफैँ बसेको घर त केही भएको थिएन, जोडिएको छिमेकीको अग्लो घरमा चिराचिरा परेको देखेपछि उनीहरुलाई दिउँसै कहाली लाग्यो।

कठिनाइ

सबै परिवार लिएर उनीहरु पालको सहारामा खुल्ला आकाश मुनि आइपुगे। परिवारमा उनी मात्रै होइनन्, जेठानी पनि सुत्केरी छिन्।

जो पहिलो भूकम्प आउँदा मुस्किलले १ महिने सुत्केरी थिइन्।

त्यस यता उनीहरु जेठको मध्य घाम र वर्षाको पानी सहेर त्रिपाल मुनि आफ्नो नवजात शिशुसँग बस्दै आएका छन्।

सबैले भन्छन्- यस्तो बेला खानपान र सरसफाइमा ध्यान दिनुपर्छ।

उनीहरुलाई पनि थाहा छ। तर खुल्ला चौरमा बस्दा सबै आफूले भनेजस्तो नहुँदोरहेछ।

विहानको खाना खाएपछि भाँडा माझ्दै गर्दा पालभित्रको छोरालाई हेर्दै सबिनाले भनिन्, ‘दिउँसो चर्को घाम राति बेस्सरी हावा चलिरहने। अस्ती जचाउँन गएको थिएँ, डाक्टरले टाइफाइड भएको छ ख्याल गर्नुहोला भन्यो।’

ख्याल त गर्ने तर कसरी? बच्चालाई राम्ररी दुध पनि चुसाउन पाएको छैन।

त्रास

आफ्नो ज्यान त जेनतेन धान्न सकिन्थ्यो।

उनको परिवारलाई अब झन् वर्षा बढेपछि पालको बास कस्तो हुने हो भन्ने पीर छ।

Image caption अन्य मुलुकहरुमा पनि भूकम्पपछि अस्थायी शिविरमा बस्ने महिला र बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या देखिने गरेको छ

भुइँको चिसोले भेट्यो भने बच्चालाई जन्डिस होला, अरू रोगले समाउला भन्ने उस्तै पीर छ। हुन पनि राति आउने पानीले कहिले चिसो भइरहन्छ कहिलो हावाहुरीले पालनै उडाउला भन्ने डर हुन्छ।

एयरपोर्ट र मनोहरा नजिकैका खुला चौर मात्रै होइनन्, काठमाडौंको टुँडिखेल, ललितपुरको खोकनालगायत भूकम्प प्रभावित जिल्लाका थुप्रै अस्थायी शिविरमा बसेका सुत्केरी महिलाहरु यस्तै त्रासमा छन्।

स्वास्थ्य र सरसफाइको मात्रै होइन, यसरी कहिलेसम्म बसिरहने भन्ने पीरलो पनि उत्तिकै छ।

भुकम्प पछि हाल सयौं सुत्केरी महिलाहरु खुला चौर, पालमुनी आश्रय लिइरहेका छन्। पालमा आफ्नो दैनिक गुजारा गरिहरेका महिला प्रत्यक्ष मारमा परेका छन्।

सुझाव

सुत्केरी महिलाहरुको लागि सरकारी तथा निजी क्षेत्रबाट केहि राहतको ब्यवस्था गरिए पनि त्यो आफूहरुलाई पर्याप्त नभएको सुत्केरी महिलाहरुको गुनासो छ।

तर डाक्टरहरुले भने यस्तो बेला मानसिक तनाब धेरै लिन नहुने बताइरहेका छन्।

यस्तो अवस्थामा कसरी सुरक्षित रहने?

डाक्टर सुनिता बर्जचार्य राजभण्डारी भन्छिन्, ‘त्रिपालमा बसिरहेको भए पनि बालबालिकालाई चिसोबाट जोगाउनुपर्छ। वरपर सरसफाईमा ध्यान नदिए उनीहरुलाई विभिन्न रोगको संक्रमण हुन्छ।’

सुत्केरी महिलाले शिशुको मात्रै नभइ आफ्नो स्वास्थ्यको पनि ख्याल राम्रोसँग गर्नुपर्ने उनी बताउँछिन्।

उनले भनिन्, “आमा स्वस्थ नभए राम्रोसँग दुध आउँदैन, बच्चाको राम्रो ख्याल आमाबाहेक अरुले गर्न सक्दैन। त्यसैले आमाले आफू र आफ्नो शिशुको स्वास्थ्यमा विशेष ध्यान पुर्याएर गर्नुपर्छ।”