ग्रीसको ऋण संकटबारे सहमति हुने ‘आशा’

  • 23 जुन 2015
तस्वीर कपीराइट AP
Image caption जर्मन चान्सलर एंगेला मर्केलले वार्तामा सहभागी सबैले ग्रीस युरोजोनमै रहिरहोस् भनी चाहेको बताइन्

ब्रसेल्समा सम्पन्न आपतकालीन बैठकमा कुनै ठोस सम्झौता नभएपनि युरो मुद्रा प्रचलनमा रहेको युरोजोनका नेताहरुले ग्रीसको ऋण संकट समाधानबारे केही दिनभित्रै सहमतिमा पुग्न सकिने आशा गरेका छन्।

जर्मन चान्सलर एंगेला मर्केलले ग्रीसको नयाँ प्रस्तावमा प्रगतिका केही संकेतहरु देखिएको बताइन्।

तर मर्केलले थोरै समय बाँकी रहेको भन्दै थप कदम चाल्नुपर्ने बताइन्।

ग्रीसले यसै महिनाको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय मुद्रा कोषलाई १ अर्ब ६० करोड युरो ऋण तिर्नुपर्नेछ।

अवरोध

त्यसो गर्न विफल भए ग्रीस युरोजोनबाट बाहिरिने खतरा छ।

ब्रसेल्सस्थित बीबीसीका युरोप संवाददाता डेमियन ग्रामाटिकास भन्छन्, सहमति नभएपनि सम्झौतामा उत्पन्न हुने अवरोधहरु हटेको देखिन्छ।

यसअघि ग्रीक अर्थमन्त्रीले व्यापारी र धनीहरुमाथि नयाँ कर लगाउने घोषणा गरेका थिए।

तस्वीर कपीराइट Reuters
Image caption ग्रीसले कर बढाएर अनि खर्च कटौती गरेर दुई वर्षमा ८ अर्ब युरो जुटाउने जनाएको छ

उक्त कदमपछि ऋणदाताहरुसँगको जारी गतिरोध अन्त्य हुने उनको विश्वास छ।

संकेत

आपतकालीन बैठकका निम्ति ब्रसेल्समा भेला भएका युरोजोनमा पर्ने १८ मुलुकका नेताहरुले ग्रीसको उक्त कदमप्रति सावधानीपूर्वक आशा व्यक्त गरेका छन्।

बैठकमा सहभागी हुनुअघि सोमबार ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले ग्रीसका ठूला तीन ऋणदाताहरु मुद्रा कोष, युरोपियन कमिसन र युरोपियन केन्द्रीय ब्याङ्कका प्रमुखहरुसँग ब्रसेल्समा भेटवार्ता गरेका थिए।

सोमबार साँझ वार्ता सकेपछि मर्केलले बैठकमा सहभागी आफूसहित सबैले ग्रीस युरोजोनमै रहिरहोस् भन्ने चाहेको बताइन्।

उनले भनिन्, “ग्रीसद्वारा आज पेश गरिएको प्रस्तावमा सुधारका केही संकेत देखिएका छन्, यद्यपि हाम्रो छलफलको क्रममा के स्पष्ट भयो भने अझ धेरै काम गर्न बाँकी छ र समय थोरै छ, त्यसकारण पूर्णरुपमा एकाग्र भएर हामीले काम गर्न आवश्यक छ।”