सिस्टर निर्मलाको निधन

  • 24 जुन 2015
Image caption सिस्टर निर्मलाले मदर टेरेसापछि उनको उत्तराधिकारीको रुपमा १२ वर्ष काम गरेकी थिइन्

मिशनरीज अफ च्यारिटी नामको परोपकारी संस्थाकी संस्थापक मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको गए राति भारतको कोलकातामा निधन भएको छ।

८१ वर्षको उमेरमा उनको निधन भएको हो ।

निर्मला जोशी अर्थात् सिस्टर निर्मलाको परिवारका सदस्यका अनुसार बाबु महानन्द र आमा मोहिनी रेग्मीकी जेठी छोरीका रुपमा नेपालको स्याङजाको रेग्मी गाउँमा उनको जन्म भएको हो।

युवा उमेरकै बेलादेखि परोपकारी काममा रुची राख्ने उनी सन् १९५२ देखि मदर टेरेसाको सामित्यतामा आएकी सिस्टर निर्मलाकी बहिनीका छोरा विश्वप्रकाश शर्माले जानकारी दिए।

उत्तराधिकारी

परिवारका सदस्यका अनुसार बाबु भारतमा जागिरे रहेका कारण उनी भारतमै हुर्केकी थिइन्।

विश्वप्रकाशले भने, 'उहाँ जहिले पनि नरम स्वरले बोल्ने गर्नुहुन्थ्यो। हाम्रो परिवारको एउटा खम्बा ढलेको छ। उहाँ सतिसाल जस्तो हुनुहुन्थ्यो।'

सिस्टर निर्मला सन् १९९७ को मार्चदेखि २००९ को मार्चसम्म मदर टेरेसाको उत्तराधिकारीको रुपमा रहिन्।

भारतको कोलकातामा रहेको मिशनरीज अफ च्यारिटी नामको परोपकारी संस्था मदर टेरेसाले स्थापना गरेकी हुन्।

उक्त संस्थाले कोलकतामा घरबारबिहीनहरुको देखभाल गर्छ।

सिस्टर निर्मला लामो समयदेखि मुटुको समस्याले थलिएकी थिइन्।

तस्वीर कपीराइट Bishwo Prakash Sharma
Image caption सिस्टर निर्मलालाई सन् २००९ मा भारत सरकारले पद्म विभूषणद्वारा सम्मान गरेको थियो

उनी विरामी भएपछि एक महिना अघि कोलकाता जाँदा उनको अवस्थाको बारेमा बताउँदै उनका भाइका छोरा शैलेन्द्र रेग्मीले भने, 'हामी कोलकाता पुग्दा उहाँलाई हार्ट अट्याक भइसकेको रहेछ। तर पनि केही सञ्चो भएर उहाँ बेडमा हुनुहुन्थ्यो। हामीलाई चिन्नु भो।'

उनको नेतृत्वको मिसनरिज अफ च्यारिटीले नेपालको काठमाण्डू तथा पोखरामा बृद्धाश्रम र अनाथ आश्रम सञ्चालन गरिरहेको छ।

श्रद्धाञ्जली

गरिब तथा असहायको सेवामा समर्पित सिस्टर निर्मलाको निधनप्रति भारत र नेपालका प्रधानमन्त्री तथा अन्य भारतीय अधिकारीहरुले गहिरो दुःख व्यक्त गरेका छन्।

उनको निधनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो ट्वीटमार्फत उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ट्वीटमा नरेन्द्र मोदीले भनेका छन्, "सिस्टर निर्मलाको जीवन गरिब र अति विपन्न वर्गका लागि सधैँ समर्पित थियो। उनको मृत्यूको खबरले दुखि बनाएको छ। उनको आत्मालाई शान्ति मािलोस्।"

पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले पनि सिस्टर निर्मलाको निधनमा ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।

उनले ट्वीटमा लेखेकी छिन्, "मदर टेरेसापछि मिशनरीज अफ च्यारिटीको नेतृत्व सम्हाल्नु भएकी सिस्टर निर्मलाको निधनको खबरले दुखी बनाएको छ। कोलकाता र विश्वले उनलाई सम्झिरहनेछ।"

सेवाभाव

तस्वीर कपीराइट AP
Image caption मिसनरिज अफ च्यारिटीमा झन्डे ४५ सय ननहरु कार्यरत छन्।

कोलकताका आर्कविशोप टोमस डिसुजाले अन्य सिस्टरहरुले उनका लागि प्रार्थना गरिरहेको बेला उनको निधन भएको एएफपी समाचार संस्थालाई बताए।

उनले भने, "उहाँ केही समयदेखि मुटुको विमार हुनुहुन्थ्यो, तर उहाँको मुहार सधैँ हँसिलो थियो र उत्तिनै चम्किलो।"

उनको कार्यशैलीमा मदर टेरेसाकै भद्रपना झल्किने र उनी सधैँ गरिवको सेवामा तत्पर हुने बताए।

सन् २००९ मा मदर टेरेसाको उत्तधारिकारी सिस्टर मेरी प्रेमाले भएपछि पनि सिस्टर निर्मलाको सेवाभावमा उत्तिनै लगाब रहेको बताए।

उनका ६ जना बहिनी र २ जना भाइहरु छन्। ति मध्ये उनी लगायत तीनजना दिदी बहिनीको निधन भइसकेको छ।