विकीलीक्स् खुलासा: फ्रान्सेली राष्ट्रपतिबारे जासूसी

  • 24 जुन 2015
तस्वीर कपीराइट BBC World Service
Image caption विकीलिक्सका अनुसार एनएसएले फ्रान्सका वर्तमान र दुई पूर्व राष्ट्रपतिहरुबारेका गोप्य सुचनाहरु संकलन गरेको थियो

गोप्य सरकारी सुचनाहरु चुहाउँदै आएको वेबसाइट विकीलीक्सले अमेरिकी गुप्तचर निकाय न्यासनल सेक्युरिटी एजेन्सी (एनएसए)ले फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलान्द र अन्य दुई पूर्व राष्ट्रपतिहरुबारे गोप्य सुचना संकलन गरेको खुलासा गरेको छ।

विकीलीक्सको भनेको छ निकोला सार्कोजी र जाक सिराकबारे अमेरिकी एनएसए ले सन् २००६ र २०१२को बीचमा जासूसी गरेको थियो।

त्यसबारेका विवरणहरु सार्वजनिक भएपछि फ्रान्सेली राष्ट्रपतिले प्रतिरक्षा परिषदको वैठक बोलाएका छन्।

पछिल्लो विकीलीक्स् खुलासाबारे अमेरिकी विदेश मन्त्रालयले ती दस्ताबेजहरुको सत्यताबारे कुनै प्रतिक्रिया दिएको छैन।

खुलासा

विकीलीक्सले भेट्टाएको एक विवरणमा राष्ट्रपति ओलान्दले युरोजोनबाट ग्रिस बाहिरिने परिस्थितिका परिणामहरुबारे गोप्य वैठकहरुलाई सन् २०१२ तिरै स्वीकृत गरेको देखाएको छ।

खुलास गरिएको अर्को फाइलले अमेरिकी संलग्नता बिनानै सन् २०११मा इजरेल र प्यालेस्टाइनबीच वार्ता गराउने पक्षमा फ्रान्स प्रतिबध्द रहेको देखाएको छ।

सो वेबसाइटले एनएसएका प्रमुख जासुसी प्रतिवेदनहरु र प्राविधिक दस्तावेजहरुको हवाला दिंदै नयाँ खुलासाहरु गरेको छ।

पछिल्लो खुलासापछि राष्ट्रपति ओलान्दले बुधबार प्रतिरक्षा परिषदको वैठक डाकेको उनका एक सहयोगीले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताए।

‘एस्पियोनाज एलीसी’

बीबीसीका वासिङटन सम्बाददाता भन्छन्, “विकीलिक्सले आफू बाहेक कुनै सुत्र खुलाएको छैन, तर उस्ले यसअघि जर्मन ब्राजिलियन र मेक्सिकन नेताहरुबारे गरेका खुलासाका कारण पछिल्लो दाबी पनि सत्य हुन सक्ने संकेत मिल्छ।”

मंगलबार विकीलीक्सले फ्रान्सेली राष्ट्रपतिय दरबारलाई इङ्गित गर्दै ‘एस्पियोनाज एलीसी’ शीर्षक दिएर फ्रान्सबारेका फाइलहरुको प्रकाशन थालेको थियो।

तीन फ्रान्सेली राष्ट्रपतिहरुका अतिरिक्त विकीलीक्सका फाइलहरु एनएसएले जासूसी गरेका फ्रान्सका मन्त्रीहरु र अमेरिकाका लागि फ्रान्सेली राजदूतका सञ्चार सम्पर्कका विवरणहरुमा आधारित छन्।

बीबीसीका सुरक्षा सम्बाददाता गर्डन कोरेरा भन्छन्, “पछिल्ला विवरणहरु पूर्व एनएसए कर्मचारी एडवार्ड स्नोडेनबाटै आएको हो वा होइन भन्नेबारे प्रष्टता छैन।”