दुई छिमेकीद्वारा ठूलो रकम सहयोगको घोषणा

  • 25 जुन 2015
Image caption अर्थमन्त्रालयले पुनर्निर्माणका लागि दाताहरुबाट करिब एक तिहाई सहयोग जुट्ने अपेक्षा गरेको बताएको थियो

भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यसहित काठमाडौंमा आज सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारतले सबैभन्दा बढी १ खर्ब रुपैँया रकम नेपाललाई उपलब्ध गराउने घोषणा गरेको छ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतले गर्ने सहयोगमध्य १ चौथाई अनुदान स्वरुप हुने बताइन्।

उक्त रकम भारतले पाँच वर्षभित्र दिने जनाएको छ।

भारतपछि अर्को छिमेकी मुलुक चीनले नेपाललाई ७६ अर्ब रुपैँया भन्दा बढी सहयोग गर्ने घोषणा गरेको छ।

सहयोग

चीनका विदेशमन्त्री वाङ यीले उक्त रकमको घोषणा गरेका हुन्।

त्यस्तै दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले ६० अर्ब रुपैँया उपलब्ध गराउने घोषणा गरेको छ।

विश्व बैंकले यसअघि नै नेपालको पुनर्निमाण, पुनस्थापना र नवनिर्माणका लागि सघाउन ५० अर्ब रुपैँया सहयोग गर्ने घोषणा गरिसकेको थियो।

त्यस्तै जापानले करिक २६ अर्ब रुपैँया सहयोग गर्ने बताएको छ।

घोषणा

राजधानीमा आज विहान देखि भइरहेको ‘नेपालको पुन:निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ कार्यक्रममा विभिन्न देश तथा दातृ निकायहरुले नेपालको पुनर्निर्माणका लागि आफूले दिने रकमको घोषणा गरेका हुन्।

उक्त कार्यक्रम प्रधानमन्त्री सुशिल कोइरालाको सम्बोधनबाट सुरु भएको थियो भने कार्यक्रमको उद्देश्यबारे अर्थमन्त्री रामशरण महतले सहभागीहरुलाई जानकारी गराएका थिए।

आज दिनभरी चल्ने कार्यक्रममा ग्रामीण बस्ती विकास, सुधारिएको पुनर्निर्माणलगायत विभिन्न विषयमा दातृ निकायहरुले प्रस्तुति दिनेछन्।