नेपालको पुनर्निर्माणबारे सम्मेलन शुरु

  • 25 जुन 2015
क्षति
Image caption वैशाखमा गएका विनाशकारी भूकम्पका कारण १४ जिल्लामा लाखौं घरहरु भत्किएका छन्

भूकम्पले ध्वस्त बनाएका गाउँबस्ती र सम्पदा पुननिर्माणका लागि दाताको सहयोग पाउने आकांक्षासाथ आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंंमा शुरु भएको छ।

उक्त सम्मेलनको शुरुवातमा प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गरेका थिए र लगत्तै कार्यक्रमको उद्देश्यबारे अर्थमन्त्री रामशरण महतले दातृ निकायका प्रतिनिधिहरुलाई जानकारी गराए।

भूकम्पपछिको पुनर्निर्माणका लागि दातृ सहयोग जुटाउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सात देशका मन्त्री तथा बहुपक्षीय दातृ निकायहरुका उच्च प्रतिनिधि काठमाडौं आएका छन्।

बंग्लादेश, भुटान, चीन, भारत, जापान, नर्वे र श्रीलंकाबाट आएका मन्त्रीहरु अनि एशियाली विकास बैंकका अध्यक्ष तथा यूरोपेली युनियनका प्रतिनिधिले पनि सम्मेलनलाई सम्बोधन गर्नेछन्।

प्रस्तुती

विश्व बैंकका अध्यक्ष अनि संयुक्त राष्ट्रसंघका महासचिवको भिडियो सन्देश पनि प्रस्तुत गरिने कार्यक्रम छ।

उद्घाटन सत्र पश्चात राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पोष्ट डिजास्टर निड एसेसमेन्ट (पिडीएनए) अर्थात विपद्पछिको क्षतिको आंकलन सम्मेलनमा प्रस्तुत गर्नेछन्।

उक्त आँकलनमा नेपाललाई भूकम्प पछिको पुनर्निर्माण गर्न झण्डै सात खर्ब रुपियाँको आवश्यकता रहेको औंल्याइएको छ।

जसमध्ये उल्लेखनीय परिमाणमा दातृ देश र निकायहरुबाट सरकारले सहयोगको अपेक्षा गरेको छ।

अर्थ मन्त्री रामशरण महतले खासगरी अनुदान वा सहुलियतपूर्ण ऋणको अपेक्षा गरिएको बताएका छन्।

हालसम्म विश्व बैंकले करीब ५० अर्ब रुपैयाँको सहयोग गर्ने घोषणा गरिसकेको छ।

तयारी

बिहीबारको सम्मेलनमा विश्व बैंकले ग्रामीण वस्ती विकासबारे छुट्टै प्रस्तुती समेत गर्ने बताइएको छ।

सम्मेलनमा जापान सहयोग नियोग जाइकाका अध्यक्षले सुधारिएको पुनर्निर्माणबारे प्रस्तुति दिनेछन् भने एशियाली विकास बैंकले चाहीं सामाजिक क्षेत्रबारे प्रस्तुति दिनेछ।

उपस्थित दातृ प्रतिनिधिहरुले आ-आफुले दिने सहयोगबारे वक्तव्य दिन एक छुट्टै सत्रको आयोजना गरिनेछ।

हाम्रा संवाददाता सञ्जय ढकाल भन्छन्, “दाताहरुले गर्ने वाचा अनुसार असार मसान्तमा प्रस्तुत हुने बजेटमा पुनर्निर्माणको खर्च विनियोजन गर्ने सरकारको तयारी छ।”