दक्षिण अफ्रिकी प्रहरीविरुद्ध अनुसन्धान सिफारिस

  • 26 जुन 2015
तस्वीर कपीराइट AP
Image caption पारिश्रमिक वृद्धिको माग गर्दै कामदारहरु हडतालमा उत्रिएका थिए

दक्षिण अफ्रिकाको एउटा आयोगले सन् २०१२ मा खानी कामदारहरु हडतालका क्रममा ३४ जना मानिसहरु मारिएको घटनाबारे प्रहरीमाथि फौजदारी अनुसन्धान थाल्न सिफारिस गरेको छ।

राष्ट्रपति जेकब जुमाले मारिकाना खानीमा हडताल अन्त्य गर्नका निम्ति प्रहरीसँग ‘गलत योजना’ भएको एउटा छानबिनले निष्कर्ष निकालेको बताए।

प्रहरीले आफ्नो योजना अघि बढाउनु गलत भएको छानबिनबाट देखिएको उनले जनाए।

पारिश्रमिकलाई लिएर कामदारहरुले गरेको प्रदर्शनमा आत्मरक्षाका लागि गोली प्रहार गरिएको प्रहरीले दाबी गर्दै आएको छ।

पाठ

राष्ट्रपति जुमाले उक्त घटनालाई उनकै शब्दमा दुःखद भन्दै लोकतन्त्रमा त्यसको कुनै स्थान नभएको बताए।

उनले भने, “एउटा मुलुकको रुपमा हामीले उक्त घटनाबाट पाठ सिक्नैपर्छ, अझ एकताबद्ध, शान्तिपूर्ण र एकअर्कासँग जोड्ने समाज निर्माणका लागि हामीले त्यसलाई प्रयोग गर्नुपर्छ।”

२० वर्षअघि दक्षिण अफ्रिकामा रंगभेद अन्त्य भएयताकै उक्त घटना सबैभन्दा हिंसात्मक भएको बताइएको छ।

तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति जेकब जुमाले प्रहरीले उक्त कारवाही गर्न नहुने बताएका छन्

र, त्यसपछि प्रहरीको भूमिका, खानी उद्योग, युनियन र सरकारमाथि व्यापक खोजबिन भयो।

रणनीतिक

कयौं दिनदेखि खानी कामदारहरुले हडताल गरिरहेका थिए र अगस्ट १६ तारिखमा उक्त घटना हुनुअघि हडतालमा नउत्रिएका कामदारहरु, सुरक्षा गार्ड र दुई जना प्रहरीसहित १० जनाको ज्यान गइसकेको थियो।

छानबिनको निष्कर्ष सुनाउँदै राष्ट्रपति जुमाले प्रहरीले कामदारहरुलाई विहानै तारबारले घेरा हाल्ने र उनीहरुलाई निःशस्त्र बनाई निस्कन दिने योजना बनाएको बताए।

उनले भने, “तर दिनमा हडतालकर्ताहरुको संख्या बढ्दै गएपछि प्रहरीले रणनीतिक कदम चाल्यो, जुन विभिन्न हिसाबले गलत थियो।”