'एकीकृत मस्यौदाबारे चार दलभित्रै विवाद'

  • 27 जुन 2015
नेताहरुको बैठक तस्वीर कपीराइट PMO
Image caption यसअघि नेताहरुले सबैजसो विवादित विषयहरुमाथि सहमति बनेको जनाएका थिए (फाइल फोटो)

संविधानसभाको मस्यौदा समितिको कार्यदलले बनाएको एकीकृत मस्यौदामाथि प्रमुख चार दलभित्रै उत्पन्न विवाद सुल्झाउन शनिबार साँझ बसेको बैठक विफल भएको नेताहरुले बताएका छन्।

समितिको पूर्ण बैठकमा विवाद देखिएपछि त्यसलाई सुल्झाउन चार दलको बैठक बसेको थियो। चार दलबीच सहमति जुटेपछि समितिले त्यस अनुरुपको मस्यौदा तयार पारेर आईतबार संविधानसभामा पेश गर्ने योजना थियो।

मस्यौदा समिति अन्तर्गतको कार्यदलले अन्तिम रुप दिएको एकीकृत मस्यौदाका केही प्रावधानमाथि १६ बुँदे सहमति गरेका नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिक मध्येकै सभासदहरुले फरक मत राखे पछि विवाद बढेको थियो।

स्थगित

समितिको पूर्ण बैठकमै विवादको समाधान गर्ने भनेर गरिएको प्रयासबाट निकास निस्कन नसकेपछि चार दलको बैठक मार्फत समाधान गर्ने भन्दै मस्यौदा समितिको बैठक केही समयका लागि स्थगित गरियो।

चार दलकाबीचमा शनिबार बिहान भएको छलफलमा पनि विवाद समाधान हुन नसके पछि बैठक साँझका लागि सारिएको थियो। उक्त बैठकले पनि समाधान दिन सकेन।

बैठकमा सहभागी एकीकृत माओवादीका नेता गिरिराजमणि पोखरेलले भने "एकसरो सबैले आफ्ना कुरा राख्नु भयो, त्यस मध्येका मुख्य विषय के हुन भन्ने कुरा पनि किटानी भयो। कति नजिक छौ र कति टाढा छौं भन्ने कुरा पनि थाहा भयो, तर कतिपय विषयमा अन्तरहरु पनि रहेको स्थितिमा आईतबार बिहान बसेर छलफल गर्ने भनेर उठेका छौं।"

दलहरुका बीचमा संविधानको प्रस्तावनामा के राख्ने भन्ने देखि लिएर कतिपय मौलिक हकहरुमै विवाद देखिएको बताइएको छ।

संरचना

नागरिकता, विशेष अधिकार, सम्बैधानिक निकायका प्रमुखहरुको पुनर्नियक्ति, प्रदेशमा अपनाउने निर्वाचन प्रणाली, स्थानीय निकायको संरचना कस्तो हुने भन्ने बारेमा मुख्य विवाद देखिएको एकीकृत माओवादीका नेता गिरिराजमणि पोखरेलले बताए।

उनले भने "दुई दर्जन विवादका विषयहरु रहेका छन्, कतिपय मौलिक हकमा पर्ने कुराहरु जसलाई विगतमा भएका सहमतिलाई परिवर्तन गरिएका छन, न्यायालयका विषयका पनि त्यस्तै कुरा आएको छ। "

मस्यौदा समितिको कार्यदलले ३७ भाग र २ सय ९६ धारा सहितको प्रारम्भिक एकीकृत मस्यौदा तयार पारेको छ। चार दलको साँझको बैठक सकिए लगत्तै मस्यौदा समितिको बैठक बसेको थियो।